Logo
Logo

राष्ट्रपति ट्रम्पका सहयोगीलाई ४७ महिना जेल सजाय


- दृष्टि न्युज/संवाददाता


वासिंगटन डिसी, २५ फागुन (एएनआई) । संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा अदालतल राष्ट्रपति डोनल्ड ट्रम्पका भूतपूर्व सहयोगी पल म्यानफोर्टलाई बैंक ठगी र कर हिनामिनाको अभियोगमा ४७ महिनाको जेल सजाय सुनाएको छ । उनी ट्रम्पको सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचन अभियान प्रमुख थिए ।
गत वर्ष अदालतले म्यानफोर्टले युक्रेनमा राजनीतिक परामर्शबाट कमाएको दशौँ लाख डलर लुकाएको ठहर गरेको थियो । राष्ट्रपतीय निर्वाचनका बेला ट्रम्प र रुसको सम्बन्धबारे एउटा छानबिन सुरु भएपछि उनीविरुद्ध ती अभियोगहरू लगाइएको थियो ।
म्यानफोर्टले दुई करोड ४० लाख डलर क्षतिपूर्ति र ५० हजार डलर जरिवाना तिर्नुपर्ने फैसला अदालतले सुनाएको छ । बिहीवार साँझ अदालतमा उपस्थित भएका म्यानफोर्टले विगत दुई वर्ष आफ्नो जीवनको सबैभन्दा कठिन समय भएको बताउनुभएको थियो । आफू अपमानित र लज्जित भएको भन्दै उहाँले न्यायाधीशलाई आफूप्रति सहानुभूति राख्न अनुरोध गर्नुभएको थियो । उहाँले आफ्नो जीवन व्यावसायिक र आर्थिक रूपमा भद्रगोल भएको पनि स्वीकार गरे ।

तर न्यायाधीश टीएस एलिसले म्यानफोर्टले अनुचित गतिविधिमा संलग्न भएर पनि पश्चात्ताप नगरेकोमा आश्चर्य व्यक्त गरेका सञ्चारमाध्यममा जनाइएकोे छ ।
उनीमाथि लागेका अन्य १० अभियोगलाई भने अदालतले खारेज गरिदिएको छ । अमेरिकाको न्याय मन्त्रालयका विशेष अनुसन्धानकर्ता रोबर्ट म्युलरले २२ महिनाअघि ट्रम्प र रुसको सम्बन्धबारे थालेको अनुसन्धान सम्पन्न हुन लागेको ठानिएको छ । तर म्युलरले गरेको छानबिनका आधारमा म्यानफोर्टलाई कुनै अभियोग लगाइएको थिएन ।
न्यायाधीशले म्यानफोर्ट रुससँग मिलेको भन्ने विषयसँग अहिलेको मुद्दाको सम्बन्ध नभएको बताएका सञ्चारमाध्यमहरूले जनाएका छन् । म्युलरले आफ्नो प्रतिवेदन चाँडै महान्यायाधिवक्तालाई बुझाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्