Logo
Logo

२३ करोड रुपैयाँ लाभग्राहीबाट फिर्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं २६ फागुन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीबाट झण्डै रु २३ करोड फिर्ता गराएको छ । विभिन्न कारणले घर नबनाएका लाभग्राहीबाट सो रकम फिर्ता भएको प्राधिकरणअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ ।
पहिले घर बनाउँछु भनी अनुदान सम्झौता गरेर अहिले घर नबनाएका लाभग्राहीबाट रकम फिर्ता भएको कार्यालयका परियोजना प्रमुख गणेशराज वस्तीले बताए । उनका अनुसारसरकारले एक पटक दिइसकेको पैसा फिर्ता लिँदैन भनेर पहिले अरु ठाउँमा घर भएका वा त्यहीँ घरमा बस्न मिल्ने हुँदाहुँदैका घरधनी लाभग्राही सूचीमा परेका थिए । अहिले घर नबनाउँदा रकम त्यतिकै लिन पाइँदैन भन्ने सोचेर फिर्ता गर्ने क्रम शुरु भएको उनले बताए । उनले भने, ‘घर बनाउन नचाहने वा आवश्यक नभएका लाभग्राही आफैँले जानेर फिर्ता गर्न थाल्नुभएको छ ।’
कतिपय लाभग्राही भने भुलवश लाभग्राही सूचीमा परेको कार्यालयले जनाएको छ । उनका अनुसार जानेर वा नजानेर लाभग्राही बनेका लाभग्राहीको खोजी भइरहेको छ । सम्बन्धित व्यक्तिले आफू बसिरहेको पालिकामार्फत ‘यति नम्बर खातामा भएको लगतकट्टा गरिपाऊँ’ भन्दै निवेदन दिनुपर्ने उनले बताए ।
परियोजना प्रमुख वस्तीका अनुसार पालिकामार्फत जिल्ला आयोजना कार्यन्वयन एकाइ र त्यहाँबाट केन्द्रीय आयोजना कार्यन्यन एकाइ पुगेपछि लगतकट्टा हुन्छ । उनले भने, ‘नक्कली लाभग्राही पहिचान गरेर रकम फिर्ता गराउन स्थानीय तहको समेत सहयोग आवश्यक छ ।’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अहिलेसम्म देशभरमा लाभग्राही सूचीमा परेकाको कुल संख्या आठ लाख १२ हजार ३७१ रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्