Logo
Logo

प्रधानमन्त्रीको तीन गल्तीले वायुसेवा निगम डुब्दै


दृष्टि संवाददाता


काठमाडौं । केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री भएपछि नेपाल वायुसेवा निगमको हकमा तीनवटा गल्ती गरेका छन । जुन गल्तीका कारण नेपाल वायुसेवा निगम डुब्न गालेको छ ।

निगमको इतिहासमा दुईवटा वाइडबडी, दुईवटा न्यारोबडी जहाज किन्ने सहास गर्ने व्यक्ति सुगतरत्न कंशाकारलाई हटाउनु प्रमुख गल्ती थियो । त्यसपछि न्यारोबडी जहाज खरिदमा ६ मिलियन अमेरिकी डलर घोटाला गर्ने र कमिशनकै लागि ६ वटा चिनियाँ जहाज खरिद गरेर ग्राउण्डेड गर्ने मदन खरेललाई पुनः निगममा भित्र्याउनु दोस्रो गल्ती थियो । र, हवाई जहाज व्यवस्थापनसम्बन्धी कुनै ज्ञान नै नभएका बतास अर्गनाइजेशनका कर्मचारी डिमप्रकाश पौडेललाई निगमको महाप्रबन्धक नियुक्त गर्नु तेस्रो गल्ती थियो ।

मानिसले एकपटक गल्ती गर्न सक्छ, पटक–पटक गल्ती गर्दैन भन्ने कुरा निगमको हकमा लागू भएन र प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा पुगेका व्यक्तिबाटै पटक–पटक गल्ती हुँदा निमको हालत चौपटक भएको छ ।

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको सिफारिसमा गत कात्तिक २ गते निगमको महाप्रबन्धक पदमा नियुक्त पौडेलले निगम सुधारको कुनै ‘रोडम्याप’ बनाउन सकेका छैनन् । बरु उनले निजी क्षेत्रका विमान कम्पनीहरुसँग साँठगाँठ गरेर निगमलाई थप डुबाउने दुष्प्रयास गरेका छन् ।

त्यसको पछिल्लो उदाहरण दिल्ली–काठमाडौं उडान गरेर भारतीय यात्रुलाई काठमाडौं ल्याउने, काठमाडौंमा चांैध दिन क्वारेन्टिनमा राखेर हिमालयनलगायत अन्य एयरलाइन्सबाट तेस्रो मुलुक पठाउने गरेर करोडौं कमशिन कुम्ल्याएको आरोप छ । भारत सरकारले उडान स्थगित गरेका गन्तव्यमा काठमाडौंबाट यात्रु ओसार्न थालिएपछि कोभिड संक्रमण पनि सँगसँगै बढेको निगम कर्मचारीहरुले बताएका छन् ।

निगमसँग अहिले दुईवटा वाइडबडी, दुईवटा न्यारोबडी, वाई–१२ ४ वटा एमए–१६ चिनियाँ जहाज गरी ६ वटा र तीनवटा ट्वीनअटर जहाज छन् । अन्तर्राष्ट्रिय र आन्तरिक उडानका लागि यी जहाज पर्याप्त हुँदाहुँदै पनि कमिशनको चक्करमा आफ्ना जहाज ‘ग्राउण्डेड’ गरेर निजी जहाजलाई आफ्नो व्यापार सुम्पने काम पौडेलले गरेका छन् । जसका कारण निजी एयरलाइन्स मालामाल भएका छन् भने निगमको सबै जहाज ग्राउण्डेड छन् ।

उनमा निगम सुधारको योजना थियो भने उनले अन्तर्राष्ट्रिय र आन्तरिक उडानका लागि वातावरण बनाउँथे । आन्तरिक उडानलाई सुधार गर्थे । यो ६ महिनाभित्र धेरै काम गर्न सकिन्थ्यो । दुर्भाग्य, हरेक कुरामा कसरी कमाउने भन्ने ध्यानमा लागेको हुँदा फोर्स ल्याण्डिङ गर्दा बिग्रिएको जहाजसमेत समयमा मर्मत हुन सकेन । जसबाट निगमले करोडौं रुपैयाँ गुमाउनु परिरहेको छ । तर, पौडेल भन्दैछन्, ल्याण्डिङ गियर सित्तैमा पाइने भयो ।

निगमबाट योग्य नेतृत्व हटाउनु, निगमलाई डुबाएर आफू मालामाल हुने मदन खरेललाई पुनः निगम भित्र्याउनु र जहाज व्यवस्थापनबारे ज्ञान नै नभएका डिमप्रकाश पौडेललाई महाप्रबन्धक नियुक्त गर्नु प्रधानमन्त्रीको गल्ती हो । त्यसैले निगम संटमा छ ।

‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भनेझैँ एयरबस ३३०–२०० जहाजको ल्याण्डिङ गियर बिग्रिएर नेपालमा थन्किएको छ, प्रचारचाहिँ पुरानो बोइङ ७५७ को इन्जिन स्पेनमा फेला पर्यो भनेर ठूलै प्रचार गरिँदैछ ।

यसको के मतलब भयो र ? बोइङको इन्जिन स्पेन थियो भन्ने कुरा त निगमका कर्मचारीहरुलाई थाहा भएको कुरा हो । प्रमुख कुरा त आफूसँग भएको जहाज मर्मत गरेर सञ्चालन गर्नु हो । अर्को कुरा पौडेलले आगामी आर्थिक वर्षमा खरिद गर्नुपर्ने सामान र गत आवमा खरिद गरिएका सामानको मूल्यसहितको रिपोर्ट इञ्जिनीयरिङ विभागबाट झिकाएका छन् ।

त्यसको फोटोकपी कमिशन एजेन्टलाई दिएर आगामी वर्ष दुई अर्ब रुपैयाँ बराबरको सामग्री आफूनिकट एजेन्टबाट खरिद गरेर ‘मौकामा चौका’ हान्ने दाउमा लागेको निगम स्रोतले बताएको छ । यसरी हरेक कुरामा कमिशन खाने सोच भएका महाप्रबन्धकबाट कसरी निगमको हित होला भनेर निगमका कर्मचारी चिन्तित बनेका छन् ।

यसरी आफैँले आफैँलाई ढाट्ने व्यक्तिले निगमको भलो कसरी गर्ला ? महाप्रबन्धक पौडेल कतिसम्म केटाकेटीजस्तै रहेछन् भन्ने कुरा गत मंगलबारको बैठकमा स्पष्ट भयो । ‘दृष्टि’मा समाचार प्रकाशित भएपछि गत मंगलबार सबै निर्देशकहरुलाई बोलाएर थर्काए । उनले भने– ‘निगमको हितविपरीतका समाचारहरु आइरहेका छन्, ती समाचार कहाँबाट गयो, कसले दियो भन्ने कुरा सबै मलाई थाहा छ । प्रधानमन्त्रीज्यूलाई पनि मैले अवगत गराइसकेँ । प्रधानमन्त्रीज्यूले पनि त्यस्ता अराजक कर्मचारीलाई कारवाही गर्न निर्देशन दिनुभएको छ भने ।’

जबकि, यस विषयमा बालुवाटारमा बुझ्दा प्रधानमन्त्रीले त्यस्तो निर्देशन नदिएको र पौडेलले यसबीच प्रधानमन्त्रीलाई पनि नभेटेको बालुवाटार स्रोतले बतायो । बरु, सो स्रोतका अनुसार प्रधानमन्त्री, पौडेलमाथि कारवाहीको तयारीमा छन् । त्यस विषयमा पर्यटनमन्त्री भानुभक्त ढकाल र प्रधानमन्त्री ओलीबीच कुराकानी पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्