Logo
Logo

धर्मसंकटमा माधव नेपाल समूह


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएका छन् । आफूविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर अविश्वास प्रस्ताव आउन सक्ने खतरा देखेपछि उनले विश्वासको मत लिने भएका हुन् ।

प्रधानमन्त्री ओलीको यो निर्णयबाट माधवकुमार नेपाल समूह संकटमा परेको छ । अहिले प्रधानमन्त्री ओलीसँग प्रतिनिधिसभामा १२१ मत छ । त्यसो हुँदा उनलाई जसपाको १४ मत मात्र भए १३५ पुग्छ । यो अवस्थामा सजिलै उनले विश्वासको मत लिन सक्छन् र प्रतिनिधिसभाको बाँकी अवधि पूरै पनि सरकार सञ्चालन गर्न सक्छन् । तर, त्यसका लागि ओलीले माधव, झलनाथ समूहलाई विश्वासमा लिनुपर्ने हुन्छ । माधव–खनाल समूहमा लगभग ३५ जना सांसद छन् भनिन्छ ।

त्यसो भए माधव–खनाल समूहका ३५ सांसदले समर्थन गरेनन् भने ओलीलाई जसपाको ३२ जना सांसदले समर्थन गरे पनि उनले विश्वासको मत पाउँदैनन् । त्यसमाथि माधव समूहका २७ जना सांसदलाई स्पष्टीकरण सोधेर उनले चिढ्याएका छन् ।

यदि माधव समूहले भनेझैं फागुन २८ गतेको निर्णय फिर्ता गरेर पार्टीलाई सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलामा पुर्याउने हो भने पनि एमाले नफुट्न सक्छ । तर, ओलीले २७ सांसदले के गर्लान् भनेर पनि विश्वासको मत लिन यो अग्निपरीक्षा गरेको हुनसक्छ ।

कथंकदाचित एमालेका ३५ जना सांसदले आफूलाई विश्वासको मत दिएनन् भने पनि सबैभन्दा ठूलो दलको नाताले संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्री आफैँ हुनेछन् । र, आगामी मंसिरमा निर्वाचनको नयाँ मिति तोक्नेछन् ।

यस्तो अवस्थामा उनले अर्को सरकार बन्न दिने छैनन् । किनभने, अहिले कांग्रेसको पक्षमा ६१, माओवादी केन्द्रको ४८ गरेर जम्मा १०९ हुन्छ । कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न जसपाको २५ मत भए पुग्छ ।

जसपा विभाजित भएको अवस्थामा ओली र देउवा दुवैले १३५ मत आफ्नो पक्षमा उभ्याउन सक्नुपर्छ । त्यसका लागि ओलीलाई जसपाको साथले मात्रै पुग्दैन, माधव समूहको सहयोग र समर्थन आवश्यक छ । यस विषयमा माधव समूहले केही निर्णय नगरेको भए पनि एमाले नफुटेको अवस्थामा माधव समूह धर्मसंकटमा परेको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिने दिन नजिकिदै जाँदा माधव समूह थप रणनीति बनाएर अघि बढ्ने तयारीमा छ । तर, २७ गते के गर्ने भन्नेबारे निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्