Logo
Logo

हिमपातले सयौँ भेडाच्यांग्रा र चौँरीगाई मरे


- दृष्टि न्युज/संवाददाता


हिमपातका कारण मुस्ताङमा भेडा च्याङ्ग्राको मृत्यु हिमाली जिल्ला मुस्ताङको लोमान्थाङ– ४ चुङजुङ गाउँका कृषक नुडाढु गुरुङको यस वर्षको भारी हिमपातका कारण गोठमै चार सय ५० वटा भेडा च्याङ्ग्रा मरेका छन । यस वर्ष कृषकहरुलाई भेडा च्याङग्रा पालन व्यवसायबाट धेरै क्षतिका भएको छ । तस्वीर : रासस

ठिनी, २७ फागुन । पछिल्लो एक महीनायताको हिमपातका कारण मुस्ताङमा सयाँै भेडाच्यांग्रा र चौँरीगाई मरेका छन् ।
चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्यांग्रा र चौरी गाई मरेका हुन् । आयआर्जनको मुख्य स्रोत भेडाच्यांग्रा र चाँैरीगाई मरेपछि मुस्ताङका कृषक चिन्तित भएका छन् ।
मुस्ताङका विभिन्न लेकका खर्कमा आइतबारसम्म करीब एक हजार भेडाच्याङ्ग्रा र सयाँैको संख्यामा चौँरीगाई मृतावस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लोमान्थाङको चुम्जुङमा ङुटुक गुरुङले पालेका ४५० भेडाच्यांग्रा, हिमा लामाको ६० वटा भेडाच्यांग्रा, सोनाम गुरुङ, वाङ्दी गुरुङ, खुङ्गा गुरुङका ६० वटा चौँरीगाई, कोरला नाका नजिकैको खर्कमा ५२ वटा भेडाच्यांग्रा मरेका छन् ।
घमी र समरको लेक, किमखर्कलगायतका ठाउँका गोठमा पालिएका भेडाच्यांग्रा र चाँैरी गाई पनि मरेका छन् । बाक्लो हिउँ जमेकाले हिँडेर अन्यत्र लैजान नसकिएको, घाँस खान नपाएको र चिसोले वस्तुभाउ मरेका कृषक सोनाम गुरुङले बताए ।
उनका अनुसार वस्तुभाउ मर्ने क्रम निरन्तर जारी छ । माघ दोस्रो हप्तादेखि फागुन दोस्रो हप्तासम्म निरन्तर हिमपात भएको थियो । घरमा पालिएका वस्तुभाउलाई सुख्खा नल, पराल खुवाए पनि ठूलो सङ्ख्यामा व्यावसायिकरुपमा पालिएका भेडाच्यांग्रा र चौँरीगाईलाई आहाराको अभाव भएको हो ।

सडकमा हिउँ जमेकाले उपल्लो मुस्ताङ यातायात सेवाबाट पनि सम्र्पक विच्छेद भएको छ । जिल्ला समन्वय समिति, स्थानीय तह र वडाका जनप्रतिनिधि तथा सुरक्षा निकायले हिउँले अवरुद्ध सडक खुलाउन र पशुधनको क्षति विवरण संकलन शुरु गरेका छन् ।
तल्लो मुस्ताङको नमखु, मार्फा लेक र धौलागिरि चौँरीपालन समूहको खर्कमा पनि हिउँका कारण चौँरीगाईका बाच्छा, बाच्छी र भेडा, च्याङ्ग्राका पाठापाठी मरेका छन् । मुस्ताङबाट निर्वा्चित प्रतिनिधि र प्रदेशसभाका सांसदले हिमपातका कारण अस्तव्यस्त र कष्टकर बनेको जनजीवनलाई सहज बनाउन तथा क्षति ब्यहोरेको कृषकलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्