Logo
Logo

कोरोनाको इपिसेन्टर भारतमा उडान खुला


दृष्टि संवाददाता


काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै आन्तरिक र अन्तर्राष्ट्रियतर्फको उडान बन्द गर्ने निर्णय गरेको छ । सोअनुसार आन्तरिक उडान मंगलबारबाट बन्द भएका छन् भने अन्तर्राष्ट्रियतर्फका उडान २३ गते राति १२ बजेबाट बन्द हुँदै छ ।

मन्त्रिपरिषद बैठकको एउटा निर्णय भने अनौठो देखिएको छ । दैनिक लाखौँ नयाँ संक्रमितहरू थप भइरहेको भारततर्फ भने सातामा दुई उडान गर्ने निर्णय गरेको छ । सुरुमै बन्द गर्नुपर्ने उडान निरन्तर भइरहँदा काठमाडौंमा पनि त्यसको असर परेको छ ।

सयौँ भारतीयहरू नेपालको बाटो भएर साउदीतर्फ जाँदा काठमाडौंका केही होटेलहरूले राम्र्रै व्यवसाय गरे तापनि कोरोना संक्रमण फैलाउन सोही रुटले सजिलो बनाएको छ ।

सरकारले गरेको हवाई उडानसम्बन्धी ५ वटा निर्णयमध्ये तेस्रो नम्बरको निर्णयमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटेलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल–भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईतर्फी उडानहरू हप्ताको दुईवटामा सीमित गर्ने निर्णय गरेको छ ।

पर्यटन व्यवसायीदेखि एयरलाइन्स क्षेत्र पनि भारतको उडान पूर्ण रूपमा बन्द गरेर दुबई, साउदीलगायत देशमा भने उडान गर्नुपर्ने पक्षमा थिए ।

नेपालमा चलेको राजनीतिक उतारचढावमा धेरै भिआइपीहरूलाई आउन सहज बनाउने गरी भारतीय उडान निरन्तरता दिइएको पर्यटन मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

पर्यटन मन्त्रालय पनि भारतको उडान दुई साताअगाडि नै बन्द गरेर मलेसिया, कतार, दुबईलगायत देशमा भने उडान सुचारु गर्ने पक्षमा रहेका थिए ।

भारतसँगको एउटा ढोका खुला राख्दा भोलि अत्यावश्यक पर्दा सहयोग लिनका लागि सरकारले सोचेर दुईवटा उडान, क्वारेन्टिन र पिसिआरलाई कडाइ गर्ने गरी दुई उडान खोलेको हुन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । ‘सबै ढोका बन्द गर्दा फेरि खोल्नुपरेमा, कुनै सहयोग तुरुन्तै लिनुपरेमा सहज हुन्छ भन्ने बुझाइ होला,’ पोखरेलले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्