Logo
Logo

सुदूरका अस्पताल भरिभराउ, संक्रमित र अन्य बिरामी एउटै वार्डमा


हिक्मत बम


धनगढी । निजी अस्पतालहरुले सञ्चालन गरेको कोरोना उपचार कक्षको वार्ड र अन्य बिरामीहरुको वार्ड एउटै हुँदा संक्रमण फैलने खतरा बढ्दै गएको छ ।
संक्रमणको स्थिति भयावह बन्दै गएपछि सुदूरपश्चिम प्रादेशिक अस्पताल र जिल्ला अस्पतालहरु संक्रमितले भरिभराउ हुन थालेपछि प्रदेश सरकारको सहयोगमा कैलालीका निजी अस्पतालहरुले पँचदेखि १० शैयासम्मको कोरोना अस्पताल गत शुक्रबारदेखि संचालन गरेका हुन् ।

धनगढी सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र सुदूरका सबै जिल्ला अस्पतालहरुले संक्रमित थेग्न नसक्ने भएपछि निजी अस्पतालहरुले समेत संक्रमितको उपचार थालेका हुन् । तर, निजी अस्पतालसँग भौतिक संरचना नहुँदा अन्य बिरामी र कोरोना संक्रमितलाई एउटै वार्डमा उपचार गर्न बाध्य भएका हुन् ।

एउटै वार्डमा सबै बिरामीको उपचार हुँदा संक्रमण फैलन खतरा बढेको छ । यसले गर्दा अन्य रोगको उपचारका लागि आउने बिरामीहरु पनि कोरोनाको शिकार बन्न पुगेका छन् । निजी अस्पतालहरुमा कोरोना संक्रमित र अन्य बिरामीलाई एकै वार्डमा राखिँदा संक्रमण फैलिने त्रास बढ्दै गएपछि अन्य रोगका बिरामीलाई उपचारका लागि सकस हुन थालेको छ ।

निजी अस्पतालहरुमा पाँचदेखि १० बेडसम्मको वार्ड सञ्चालन गरिएको छ । तर ती वार्डहरु स्वास्थ्य सुरक्षका मापडण्ड विपरित रहेको सेवाग्राही बताउँछन् । पित्त थैलीको अप्रेशन गर्न धनगढीको एक निजी अस्पतालमा पुगेका चुरे गाउँपालिका वडा नम्बर २ का मानबहादुर साउँदले भने– ‘म पत्थरीको अप्रेशन गर्न आएको हुँ, तर कोरोना संक्रमित र अरु बिरामीको उपचारका लागि एउटै वार्ड प्रयोग गरिएको छ । यसले गर्दा अस्पतालबाटै संक्रमण फैलने खतरा बढ्दै गएको छ ।’ अस्पतालमा स्वास्थ्य सुरक्षका मापडण्ड अपनाइएको छैन । जसले संक्रमण फैलिने खतरा झन बढ्दै गएको छ, उनले भने ।

कोरोना संक्रमित र अन्य बिरामीलाई एकै वार्डमा राखिएको भन्दै बिरामीका आफन्ताले विरोध गर्दै आएकाले कोरोना संक्रमितलाई राख्न समस्या भएको माया मेट्रो अस्पतालका डाक्टर मोहनबहादुर साउँद बताउँछन् । ‘कोरोनाका संक्रमित र अन्य बिरामी एकै वार्डमा राख्नुपर्ने अवस्था छ । हामीसँग एकै भवन छ’, उनले भने । त्यहि विषयमा बिरामीका आफन्तहरु झगडा गर्न आउँछन् ।’

निजी अस्पतालमा समेत कोरोना संक्रमित राख्ने निर्णय भएसँगै संक्रमित निजी अस्पताल केन्द्रीत भएकाले धान्न गाह्रो भएको निजी अस्पताल संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष जनकाराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्