Logo
Logo

विप्लवलाई मूलधारको राजनीतिमा आउन दाहालको आग्रह


- दृष्टि न्युज/संवाददाता


पोखरा, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार र सिके राउतबीच भएको सम्झौतामा कुनै शंका नगर्नु भन्दै उनले विप्लव नेतृत्वलाई समेत मूलधारको राजनीतमा आउन आग्रह गरेका छन् ।
प्रेस संगठन नेपाल कास्कीद्वारा सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई मूलधारमा ल्याउने प्रयासस्वरुप सम्झौता भएको बताए ।
सरकारले सबैलाई समेटेर अघि बढ्ने बताउँदै उनले विप्लव नेतृत्वको पार्टीलाई कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारसँग वार्ता गरी मूलधारको राजनीतिमा आउन आग्रह गरे ।
नेपालमा विस्फोट तथा हतियारको राजनीतिको अब कुनै अर्थ नरहेको बताउँदै उनले वर्तमान परिस्थिति गुणात्मकरूपमा परिवर्तित भइसकेको र विस्फोट तथा हतियारको राजनीति अब सम्भव नभएको र त्यस सम्बन्धमा राज्य चुप लागेर नबस्ने बताए ।
त्यस्तै, पार्टी बैठक र सरकारसँगको छलफल समेतका आधारमा संविधानको मूल मर्म र भावना, राष्ट्रिय एकता, स्वाधीनतालाई सम्मान गर्दै मूलधारको राजनीतिमा ल्याउने भावनामा सहमति भएको उनले बताए । सरकारले सबै राजनीतिक प्रवृत्तिलाई मूलधारको राजनीतिमा ल्याउनु जायज कुरा भएको बताउँदै उनले यसले समग्र राष्ट्रिय एकता, स्वाधीनता र सबैलाई समेट्न सरकार गम्भीर छ भन्ने देखाएको बताए ।
राष्ट्रिय एकताका लागि सकेसम्म सबैलाई समेट्ने लक्ष्यअनुरुप सम्झौता भएको बताउँदै उनले सम्झौताका भाषालगायतका विषयमा पनि धेरै विवाद गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरे । जनअभिमत, जनमत संघ्रहजस्ता विषय संसद्को दुईतिहाइ बहुमतबाट निर्णय गर्नुपर्ने उनले बताए ।
पार्टीको एकीकरणपछिका बाँकी काम अन्तिम चरणमा पुगेको र आफूहरू टुंग्याउने क्रममा रहेको बताउँदै उनले सरकार पनि आफ्नो गतिमा अघि बढिरहेको बताए । थुप्रै कानून बनाउनुपर्ने आवश्यकताका कारण यसले सरकारका काममा केही अलमल भए पनि विकास निर्माणलगायतका काममा सरकार अघि बढिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्