Logo
Logo

बरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन



काठमाडौं । बरिष्ठ संगीतकार तथा गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई बिहीबार बिहाज न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनको आजै निधन भएको निधन भएको संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले निधन जानकारी दिए ।

सास फेर्न गाहे भएपछि उनलाई बिहान अस्पताल लगेका र उनलाई अस्पताल लगेको केही समयमै निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।


गायक प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ ।
सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमा सांगीतिक माहोल थियो । उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतमा गहिरो रुचि राख्दथे ।

वि.सं. २००२ सालदेखि विश्वनिकेतन मा.वि.बाट औपचारिक शिक्षाको शुरुवात गरेका प्रेमध्वजको नाम त्यतिबेला गणेशध्वज थियो । निकै सुन्दर र आकर्ष देखिने उनलाई यस्तो नाम सुहाएन भनेर उक्त स्कलका प्रधानअध्यापक प्रेमबहादुर श्रेष्ठले आफ्नै नाम प्रेम राखेर प्रेमध्वज बनाइदिएका थिए ।
स्कूल पढिरहेकै बेला २००९ सालमा रेडियो नेपालमा स्वर परीक्षा दिन गएका प्रेमध्वज प्रधान ‘क’ श्रेणीमा उत्तीर्ण भए र त्यसबापत् तीनओटा गीतहरु रेडियो नेपालको प्रत्यक्ष प्रसारणमा गाउने मौका पाए ।

वि.स. २०१० सालमा वाद्य शिरोमणि गणेशलाल श्रेष्ठसँग १५ महिना शास्त्रीय सङ्गीतको शिक्षा लिएका प्रेमध्वजसँग शुल्क तिर्ने पैसा नभएका कारण त्यसको बदलामा उनले सङ्गीत सिकुञ्जेलसम्म दुवै आँखा नदेख्ने आफ्ना गुरु गणेशलाललाई उनको घरदेखि रेडियो नेपाल लाने ल्याउने काम गर्थे । आफ्नो स्वर बिग्रेला भनेर निकै चिन्तित हुने प्रेमध्वज स्वरलाई ठीक राख्न अनेक उपायहरु अपनाउने गर्थे ।

सुमधर आवाजका धनी प्रेमध्वज प्रधानले २०२३ सालमा पहिलोपटक चलचित्र माइतीघरमा पाश्र्व स्वर दिने अवसर पाएका थिए । उनले बम्बइमा भारतीय गायिका उषा मंगेशकरसँग गाएको नमान लाज यस्तरी गीत नेपाली गायकले विदेशी गायिकासँग गाएको पहिलो गीत हो ।

प्रेमध्वजको स्वरको मीठासबाट प्रभावित भई जयदेव, कल्याणजी आनन्दजी र खैयामजस्ता केही भारतीय सङ्गीतकारहरुले उनलाई त्यहीँ बसेर हिन्दी गीत गाउन अनुरोध पनि गरेका थिए ।

माइतीघर, अन्याय, मायालु, बदलिँदो आकास, फेरि फेटौँला, जीवनरेखाजस्ता १२ वटा चलचित्रहरुमा स्वर दिइसकेका प्रेमध्वज प्रधानले ४ ओटा जति लोकगीत र २०–२५ ओटा जति भजनहरु गाएका छन् ।

त्यस्तै, उनी २०२१ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक सङ्गीत प्रतियोगितामा प्रथम, २०४४ सालमा गोरखा दक्षिण बाहु चौथा, २०४७ सालमा छिन्नलता पुरस्कार, २०५३ सालमा विख्यात त्रि–शक्तिपट्ट तेस्रा, २०५८ सालमा भूपालमानसिंह पुरस्कार, २०५९ सालमा गंगा लुनकरणदास चौधरी पुरस्कार, २०५९ सालमै इमेज च्यानल र हिट्स एफ.एम.बाट लाइफ टाइम एचिभमेन्ट अवार्डजस्ता सम्मान, पदक र पुरस्कारहरुले पनि सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्