Logo
Logo

कोरोनाविरुद्धको अभियानमा देशभर युवा संघ परिचालन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले देशैभरि स्वयंसेवक परिचालन गरेको छ ।

कोरोना भाइरस नियन्त्रणको लागि सरकारले गरेको निषेधाज्ञाका कारण आप्ठ्यारोमा परेको पीडितहरुको उद्धार तथा व्यवस्थापनको लागि युवा संघले देशैभर स्वयंसेवक परिचालन गरेको हो ।

बाँकेमा वैशाख १५ गतेदेखि दैनिक कोरोनाबाट मृत्यु हुनेको शव व्यवस्थापनमा खटिँदै आएको युवा संघको टोलीले हालसम्म सात वटा शव व्यवस्थापन गरिसकेको युवा संघ बाँकेका सचिव सुनिल रसाइलीले बताए ।

बाँकेमा कोरोनाले भयवाह हुँदै गइरहको छ । बाँकेमा दैनिक चार-पाँच सय संक्रमित थपिने र आठ-दश जना संक्रमितको मृत्यु हुने गरेको छ । उक्त शव व्यवस्थापनमा युवा संघले सहयोग गर्दै आएको छ ।

त्यस्तै बैजनाथ गाउँपालिका वडा नम्बर पाँच र छमा पिसीआर चेकजाँचमा पनि युवा संघले सहयोग गर्दै आएको छ । ‘यो कोरोना महामारीमा हामी युवाहरुको पनि केही जिम्मेवारी छन्, त्यसैले हामी युवाहरूले कोरोना संक्रमितको उपचारमा सहयोग र काेराेनाबाट मृत्यु भएकाहरूकाे शव व्यवस्थापनमा खटिँदै आएका छौं’ रसाईलीले भने ।

कोरोना महामारीविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने पनि रसाईलीले बताए । उनले भने, ‘यो महामारीको समयमा कसैलाई आरोप लगाउनुभन्दा पनि आ-आफ्नो स्थानबाट जे गर्न सकिन्छ, त्यो गर्ने हो ।’

अहिले संक्रमितको उपचार, आइसोलेसन, अक्सिजन र शव व्यवस्थापन गर्न स्थानीय तहलाई समस्या बन्दै गएकाले युवा संघले सहयोग गर्दै आएको युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले बताए । उनले युवा संघप्रति आस्था राख्ने सबैलाई कोरोना महामारीविरुद्ध लड्न हातेमालो गर्न र संक्रमितको उपचारमा सहयोग पुर्‍याउन आग्रह गरे ।

यसैगरी युवा संघ नेपाल विराटनगर महानगर कमिटीले पनि बिहीबार रक्तदान कार्यक्रम आयोजना गरी ५३ पिन्ट रगत दान गरेको छ । रक्त संचार केन्द्रमासमेत रगतको चरम अभाव भइरहेको बेला युवा संघले रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेकाे हाे ।

संकलित रगत नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार केन्द्र विराटनगरलाई उपलब्ध गराएको युवा संंघ नेपाल महानगर कमिटीका अध्यक्ष सुरेन शाक्याले बताए ।

यसैगरी काठमाडौं उपत्यकाबाट घर हिडेर अलपत्र परेका नेपालगन्जका १४० जना, झापाका ९० जना यात्रुहरुलाई गाडी व्यवस्थापन गरेर घर पुर्‍याइकाे घका केन्द्रीय उपाध्यक्ष उपाध्यक्ष नितेश पौडेले बताए ।

कोरोना तथा लकडाउँनका कारण देशैभरी विभिन्न समस्यामा रहेकाहरुको उद्धार, व्यवस्थापन, सहयोग लगायतका काम युवा संघले जारी नै राख्ने संघका सचिवालय सदस्य सुभाष साहले बताए ।

कोभिड-१९ को समस्या, समन्वय र सहयोगका सम्बन्धमा संघका तर्फवाट आवश्यक समन्वय गर्नका लागि संघका उपाध्यक्ष पौडेलको संयोजकत्वमा ‘कोभिड १९ केन्द्रीय सहयोग समन्वय समिती’ गठन गरिएको छ ।

समितिमा केन्द्रीय स्वास्थ्य विभाग, युवा शक्ति विभाग, जनस्वयंसेवक विभाग, बागमती प्रदेश इन्चार्ज, सह–इन्चार्ज र अध्यक्ष, प्रचार विभाग, कार्यालय विभाग, आर्थिक विभाग, गैर भौगोलिक प्रदेश कमिटीका ईञ्चार्ज, सह–ईञ्चार्ज र अध्यक्ष समितिको सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्