Logo
Logo

पाठक काण्डमा को–को तानिदैछन् ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकमाथि अनुसन्धान सुरु भएपछि धेरैलाई तनाव बढेको छ । सो प्रकरणमा झन्डै दुई दर्जन व्यक्तिसँग अख्तियारले बयान लिने भएको छ ।

पाठकको ७८ करोड घुसकाण्डमा पत्रकारदेखि सचिवहरुसम्म संलग्न भएको खुल्दै गएको छ । पाठकले अकुत रुपमा कमाएको सम्पति आफन्तको नाममा राखेको खुलेको छ, जसमा सरकारी सञ्चारमाध्यममै कार्यरत पत्रकार समेत छानबिनमा छन् । घुसकाण्ड लुकाउन उनले धेरै तिकडम गरेको खुलेको छ ।
घुस लिएको भिडियो खिच्ने सार्कका स्वर्णपदक बिजेता खेलाडी ध्वजमान मोक्तानका कारण धेरै तनावमा परेका हुन् । उनले सो केस मिलाउन तत्कालीन खेलकूद सचिव मोहनकृष्ण सापकोटासँग कुरा गरेका थिए । सापकोटाले आफूले मिलाइदिने बताएका थिए । सापकोटाको पनि उनले गोप्यरुपमा भिडियो खिचेका छन् । सापकोटा हाल पर्यटन मन्त्रालयमा छन् ।
त्यस्तै पाठकले सशस्त्र प्रहरीका एसपी रविन्द्र ठाकुरलाई समेत मोक्तान र ज्ञानेन्द्र झालाई धम्क्याउन प्रयोग गरेका थिए । ठाकुरमार्फत् पाठकले सशस्त्र प्रहरीका केही अधिकारीसँग समेत पैसा असुलेको स्रोत बताउँछ । नेपाल प्रहरीका एसएसपी धिरजप्रताप सिंहले त मोक्तान र झालाई पक्राउ गरेर पाठकलाई दुःख नदिने चेतावनी दिएका थिए ।
यो प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन तथा माओवादी कार्यकर्ता कैलाश मगर समेत तानिएका छन् । उनीहरु सबै अनुसन्धानको घेरामा छन् । अख्तियारले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेर विस्तृत अनुसन्धान गरिरहेको छ ।
आयोगले केही व्यक्तिहरुसँग बयान लिइसकेको छ, थप व्यक्तिहरुसँग बयान लिने तयारी भइरहेको छ । अन्तिममा पाठकसँग बयान लिन लागिएको छ । उनी विदेश भाग्न सक्ने भएकाले पासपोर्ट समेत रोक्का राखिएको छ ।


अख्तियारभित्रै ठगी ?
छानबिन सुरु भएपछि पाठकका अनेक किस्सा बाहिर आउन थालेका छन् । कतिसम्म भने अख्तियारकै कर्मचारीलाई समेत उनले ठगी गरेका रहेछन् । केही पैसा सापट चाहिएको भन्दै मागेर नतिर्ने बानी उनको रहेछ । आयोगमा कार्यरत केही तल्लो तहका कर्मचारीको पैसा उनले त्यसरी खाएका छन् ।
त्यसो त धेरै जसो मधेसी कर्मचारीसँग उनले पैसा असुलेका थिए । मधेसी कर्मचारीविरुद्ध उजुरी हाल्न लगाउने र मुद्दा तामेलीमा राखिदिने आश्वासन दिएर उनले पैसा असुल्ने गरेका थिए । १० हजार रुपैयाँसम्म उनले असुलेको खुलेको छ ।
शान्तिनगरमा भव्य घर किनेका पाठकको अकुत सम्पति उपर समेत छानबिन सुरु भएको छ । कतिपय सम्पति उनले आफन्तको नाममा लुकाएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्