Logo
Logo

राष्ट्रियसभाको उपनिर्वाचन तीनको उम्मेदवारी



काठमाडौं । वाग्मती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि ६ जेठमा हुने उपनिर्वाचनमा तीन जनाको भीडन्त हुने भएको छ । नेकपा एमाले ओली पक्षबाट वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’, स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा र नेपाल मजदूर किसान पार्टी (नेमकिपा)बाट कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

उनीहरु तीनै जनाले शुक्रबार वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका हुन् । बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् ।

स्वतन्त्र उम्मेदवार देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नेपाल समूहले समर्थन गरेको छ ।

देवकोटाको प्रस्तावकमा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छन् ।

यस्तै नेमकिपाका उम्मेदवार तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन् ।
बादलले आफू निर्वाचित भएको दल माओवादी केन्द्र परित्याग गरेपछि उनको रिक्त खाली उपनिर्वाचन हुन लागेको हो । यस उपनिर्वाचनमा गठबन्धनका उम्मेदवार देवकोटाको जित सुनिश्चित रहेको चर्चा चल्न थालेको छ ।

एमाले माधव नेपाल पक्ष, नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको समेत सर्मथन रहेकाले पनि देवकोटाको जित सुनिश्चित देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्