Logo
Logo
राष्ट्रियसभा उपनिर्वाचन

गठबन्धनको ‘भोट काट्न’ नेमकिपाको उम्मेदवारी !


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’ले पार्टी परित्याग गरेसँगै कारबाहीमा परेपछि रिक्त स्थानमा जेठ ६ गते उपनिर्वाचन हुँदैछ । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा तीन जनाको उम्मेदवारी परेको छ । यो निर्वाचनमा पनि प्रतिगमन विरोधी र प्रतिगमन पक्षधरबीच प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेदवार र उम्मेदवारलाई समर्थन गर्ने दललाई हेर्दा त्यस्तो देखिएको हो ।

स्वतन्त्र उम्मेदवार रहेका डा. खिमलाल देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधव नेपाल समूहको समर्थन रहेको छ । नेकपा एमाले ओली समूहले रामबहादुर थापा ‘बादल’लाई उम्मेदवार बनाएको छ । यो उपनिर्वाचनमा एमाले ओली समूह एक्लै चुनावी मैदानमा देखिन्छ ।

उपनिर्वाचनका अर्का उम्मेदवार हुन्, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का कृष्णबहादुर तामाङ । यसरी हेर्दा तीन जना उम्मेदवार देखिएका छन् । यस उपनिर्वाचनमा नेमकिपाको उम्मेदवारीलाई भने अर्थपूर्ण मानिएको छ ।

गठबन्धनको भोट काट्न उम्मेदवारी
मतभार कमजोर रहेतापनि नेमकिपाले उपनिर्वाचनमा उम्मेदवारी दिनुलाई प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘प्लान’ भनिएको छ । ओली र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेबीचको सम्बन्ध यसको कारक मानिएको छ ।

पुस ५ गते प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्दा ‘ओलीको कदम ठिक’ भन्ने एकमात्र नेता बिजुक्छे थिए । अदालतले ओलीको कदम असंवैधानिक रहेको पुष्टि गरेपनि बिजुक्छे ओलीको कदम ठीकै हो भनेका थिए । त्यसपछि पनि ओलीले गरेका हरेक गतिविधि बिजुक्छेले ठीक भन्दै आएका छन् । यसको अर्थ, ओली–बिजुक्छे सम्बन्ध विशेष छ । सोही सम्बन्ध यस उपनिर्वाचनमा ‘भोट काट्न’ प्रयोग गर्न लागिएको विश्लेषण हुने गरेको छ ।

हालै सम्पन्न पत्रकार महासंघको निर्वाचनभन्दा पनि व्यवस्थित रुपमा बनेको प्रतिगमन विरोधी गठबन्धनसँग पराजय व्यहोर्नुपर्ने परिस्थिति बनेपछि प्रधानमन्त्री ओलीले गठबन्धनको भोट काट्न नेमकिपाबाट तामाङलाई उम्मेदवार बनाएको बुझिएको छ । उपनिर्वाचनको विषयलाई लिएर नेमकिपा भित्रसमेत मतभेद देखिएको छ ।

एक नेताले भने– ‘अहिलेको अवस्थामा उम्मेदवारी दिनुपर्ने कारण थिएन । जित्न असंभव रहेको अवस्थामा पार्टीले उम्मेदवारी दिनुको अर्थ हुँदैन । अन्तिम अवस्थामा कसरी उम्मेदवारी पर्यो हामीलाई नै थाहा भएन । पार्टीका जिम्मेवार नेतृत्वलाई नै थाहा नदिइ उम्मेदवारी दर्ता हुनु राम्रो होइन ।’

नेमकिपाको उम्मेदवारीलाई ‘भोट काट्नका लागि’ भनिएता पनि त्यस्तो ठूलो संख्यामा यसको प्रभाव नपर्ने देवकोटा गठबन्धनको विश्लेषण छ ।

प्रतिक्रिया दिनुहोस्