Logo
Logo

खासै हट छु जस्तो त लाग्दैन- सरिश्मा राम्जाली मगर, मोडल


- दृष्टि न्युज/संवाददाता


मोडलिङको सपना थिएन उनलाई । समय र परिस्थितिवस उनी मोडल भइन् । हाल उनै सरिश्मा राम्जाली मगर मोडलिङ क्षेत्रमा ‘हटकेट’ छिन् । सरिश्माले पाँच वर्षकै अवधिमा २ सय ५० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ र करिब एक दर्जन मुलुकमा कला प्रस्तुत गर्न भ्याइसकेकी छन् । २०६९ मा रोजगारीका लागि दक्षिण कोरिया जाने सपना बोकेर म्याग्दीबाट काठमाडौं आएकी सरिश्माको भाग्य त्यतिखेर खुल्यो, जतिखेर उमेरले कोरिया जान रोक्यो । ‘त्यो बेला १९ वर्षकीमात्र थिएँ’ सरिश्मा पाँच वर्ष ब्याक भइन्, ‘कोरिया जानलाई २५ वर्ष काट्नुपर्ने रहेछ ।’ तर, उनलाई कुनै पछुतो छैन । उनी भन्छिन्, ‘पैसा कमाउनु थियो, अहिले मोडलिङबाटै कमाइरहेकी छु ।’ यिनै ‘हट मोडल’ सरिश्मासँग एमपी सुब्बाको जम्काभेट ।


तपाइँ मोडल कि डान्सर ?
डान्स गर्छु र मोडलिङ पनि गर्छु । डान्सभन्दा धेरै मोडलिङ गर्दै आएकी छु । त्यसैले मोडल नै हुँ । डान्सर भनेको पनि मलाई मन पर्छ ।
बेली डान्स पनि राम्रो गर्नुहुँदोरहेछ । कहाँ सिक्नुभयो ?
थ्याङ्क्यु, नेपालमा बेली डान्स सिकाइँदैन । यु–ट्युबमै हेरेर सिकेकी हुँ । बेली डान्स नेपालको नभएर पनि होला । सिकाउँने इस्न्टिच्युट खोलिएको छैन ।
तपाइँलाई मोडलिङ क्षेत्रमा ‘हटकेक’ भनिँदोरहेछ नि ?
खै, खाशै हट त छैन म । तर, भन्नेहरुले भन्छन् । मलाई खुसी लाग्छ । फ्रि, फ्रेन्क्ली छु । त्यसैले त्यसो भनिएको होला ।
मोडलिङमा लाग्नुभएको कति भयो ?
२०६९ सालमा प्लस–टु सकेर काठमाडौं आएकी हुँ । त्यसपछि डान्स सिकेँ । २०७० सालमा मैले पहिलोपटक मोडलिङ गरेकी हुँ । पाँच वर्ष भएछ ।
त्यो बेला काठमाडौं के लागि आउनुभएको थियो ?
कोरिया जानलाई आएकी हुँ । तर, उमेर नै पुगेन । त्यतिखेर म १९ वर्षकी मात्र थिएँ । कोरिया काम गर्न जानलाई कम्तिमा २५ वर्ष हुनुपर्ने रहेछ । मसँगै पढेको साथीचाहिँ गयो ।
कोरिया जान नपाएपछि मोडलिङमा लाग्नुभएको हो ?
म सानैदेखि नाच्न–गाउन भनेपछि हुरुक्कै हुन्थे । त्यो बेला कोरिया जान नपाएर त्यतिकै बसेकी थिएँ । त्यसैबेला निर्देशक शंकर बिसीले एउटा भिडियोमा अफर गर्नुभयो । त्यसपछि मोडलिङ सुरु गरेकी हुँ ।
शंकर बिसीले ब्रेक दिएका सबै मोडल हिट हुन्छन् ?
खै होला, आ–आफ्नो भाग्य पनि हो । उहाँ (शंकर बिसी)का प्रायः सबै चेलाहरु हिट नै छन् ।
स्टेजतिर निकै व्यस्त देखिनुहुन्छ ?
मोडलिङ दुई सय पचासभन्दा माथि पुग्यो । स्टेज कार्यक्रम पनि गर्दै आएकी छु । लोकगीतको भिडियोमा मोडलिङ गर्ने भएकाले मलाई स्टेज कार्यक्रमका लागि अफर बढी आउँछ ।
स्टेज कार्यक्रमका लागि देश–विदेशमा व्यस्त हुनुहुन्छ ?
नेपालमा भएको बेला म्युजिक भिडियोलाई समय दिन्छु । म भर्खरै मात्र हङकङ कार्यक्रम सकेर आएकी हुँ । अब चाँडै जापान जाँदैछु ।
अहिलेसम्म कुन–कुन देश जानुभयो ?
मलेसिया तीनपटक, दुवई, कतार, बहराइन, जापान, हङकङलगायतका देशमा पुगेको छु । जापानचाहिँ फेरि जाँदैछु ।
यति व्यस्त हुनुहुन्छ । आम्दानी त राम्रै होला है ?
अँ, राम्रै छ । मोडलिङबाटै मलाई पुगेको छ । घरबाट ल्याउनुपरको छैन । मोडलिङ र विदेशमा कार्यक्रम गरेरै गाडी जोडेकी छु ।
कुन गाडी किन्नुभएको छ ?
हुन्डाइको आइटेन किनेकी छु । तर, लाइसेन्स नहँदा सात महिनादेखि गाडी घरमै थन्किएर बसेको छ । आज पनि ट्रायल दिनु गएको (आइतबार) तर, ट्राइल दिने ठाउँको बत्ती नबलेपछि सबैलाई फकाईदियो ।
तपाइँ घरको कुन बहिनी हो ?
मेरो बुबा भारतीय एक्स आर्मी हुन् । मेरो दाजुभाई छैन । हामी तीन दिदिबहिनीमध्ये म कान्छी हुँ । दिदीहरुले विवाह गरिसक्नुभयो । म मात्र बाँकी छु ।
अब पालो तपाइँको हो ?
हो, तर, तत्काल विवाह गर्ने सोच छैन । यसअघि पनि मलाई एकजना युकेको लाहुरे र एकजना सिंगापुरे पुलिस मलाई माग्नु आएको थियो । तर, मैले रिज्याक्ट गरेँ ।
तपाइँको सुन्दर फिगरको रहस्य के हो ?
केही रहस्य छैन । भगवानले दिएको गिफ्ट हो । समय भएको बेला फिटनेशचाहिँ गर्छु । मेरो डाइटिङ गर्ने बानी छैन ।

प्रतिक्रिया दिनुहोस्