Logo

सरल राजनेताको महाप्रस्थान


Published On : 12 March, 2019

नेपाली कम्युनिष्ट आन्दोलनका अथकयोद्धा, देश, जनता र पार्टीप्रति सदा प्रतिबद्ध राजनेता भरतमोहन अधिकारीले ८२ वर्षको उमेरमा सदाका निम्ती विश्राम लिएको दुई साता पुग्दैछ । तर, अझै पनि लाखौँ नेपाली आँखामा आँशु छल्काएर उनलाई सम्झिरहेका छन् । किनभने उनी आँखामा पनि राख्दा नबिझाउने लाखौँ नेपालीका प्रिय नेता थिए ।
जीवन र मृत्युको संघर्षमा अन्तिम सास लिइरहँदा पनि उनको मनमा देश, जनता र पार्टीप्रति नै चिन्ता थियो । दृष्टि साप्ताहिकसँग उनको बेग्लै निकटता थियो । मनमा लागेका कतिपय कुरा उनी दृष्टि साप्ताहिकमार्फत् नै सार्वजनिक गर्थे । निर्वाचनबाट कम्युनिष्ट पार्टीको नेृतत्वमा दुईतिहाइ बहुमतको सरकार बनेपछि उनी अत्यन्त उत्साहित थिए । मुलुकका दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकताले पनि उनमा नयाँ ऊर्जा थपेको थियो । उनी त्यस परिघटनालाई ऐतिहासिक अवसर हो भन्थे । र, अब सरकारले नीति कार्यक्रम तथा बजेटमार्फत् यो अवसरलाई समृद्ध नेपाल निर्माणको सपना साकार पारेर युगयुगसम्मका लागि कम्युनिष्ट सरकार बन्ने आधार बनाउनुपर्छ भन्ने मान्यता राख्थे । त्यसकारण उनले बजेट निर्माणका काममा सघाउन खोजे । तर, न अर्थमन्त्रीले समय दिए, न प्रधानमन्त्रीको सचिवालयले उनलाई भेट्को अवसर दिलायो । त्यसपछि उनले बाध्य भएर सञ्चारमाध्यममार्फत् बजेटमा समेट्नुपर्ने प्राथमिकताका विषय सार्वजनिक गरे । तर, तिनको पनि बेवास्ता भएपछि उनी आफैँ अन्तर्वार्ताहरू दिँदै हिँडे । मेडिसिटी अस्पतालमा भर्ना हुनु महिनादिनअघि उनले दृष्टिसँग लामो कुराकानी गरेका थिए । त्यसक्रममा पनि उनमा देश, पार्टी र जनताप्रति गहिरो चासो र चिन्ता देखिन्थ्यो । पार्टी र वर्तमान नेतृत्वको केही आलोचना पनि गरे पनि यही नेतृत्वले आफ्ना कमजोरी सच्याएर युगिन परिवर्तन गर्ने दृढ विश्वास पनि देखिन्थ्यो । अधिकारी भौतिक रूपमा अहिले हाम्रोबीचमा नभए पनि हामीले उनलाई नजिकबाट चिनेका केही व्यक्तित्वसँग संवाद गरेका छौँ । त्यो संवादबाट पनि स्पष्ट भयो, भौतिक विश्राम लिए पनि उनी युगयुगसम्म बाँचिरहनेछन् ।

संक्षिप्त जीवनी
अधिकारी महोत्तरीको भ्रमरपुरामा जन्मे पनि विराटनगर बसाइँ सरेका थिए । अधिकारीका पिता रामचन्द्र अधिकारी राणाकालमा सुब्बा थिए । राणाहरूले उनको बुबाको जागिर खोसेपछि बिपी कोइरालासँगको सान्निध्यका लागि अधिकारी परिवार विराटनगर बसाइँ सरेको थियो । अधिकारी एसएलसी (त्यसबेलाको म्याट्रिक) अध्ययनका लागि बनारस गए । त्यही बेला उनीलगायतले बनारसमै वामपन्थी विद्यार्थी समूह बनाई राजनीति सुरु गरेका थिए । सोही क्रममा उनले भारतीय कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । इलाहाबादबाट अर्थशास्त्रमा एमए गरेका अधिकारीले कानुनमा स्नातक गरेका थिए ।
२०१४ सालको नेकपाको दोस्रो महाधिवशेनका बेला उनी महाधिवेशन प्रतिनिधि थिए । नेकपाको तेस्रो महाधिवेशनमा उनी पार्टी केन्द्रीय समिति सदस्य निर्वाचित भएका थिए । उपप्रधानमन्त्री, चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन विभाग प्रमुखजस्ता भूमिका निर्वाह गरेका उनको जीवन भने सधैँ सरल र सहज थियो । सबैको पहुँचमा थियो ।
२०५१ सालको तत्कालीन एमालेको नौमहिने सरकारका अर्थमन्त्री रहँदा अधिकारीले पूरक बजेटमार्फत ल्याएका कार्यक्रम सर्वाधिक लोकप्रिय बने । ‘आफ्नो गाउँ आफैं बनाऊँ,’ सामाजिक सुरक्षा योजनाअन्तर्गतको ‘वृद्धभत्ता’ वितरण, प्रत्येक स्थानीय निकायलाई विनियोजन गरिएको ३–३ लाख रकम, कृषि, साना र मझौला उद्योगको विकासका निम्ती ल्याइएका कार्यक्रमको अहिले पनि आममानसिको स्मरणमा छन् । अधिकारीले घोषणा गरेको बजेटको लोकप्रियताबाटै ०५४ को स्थानीय चुनावमा तत्कालीन एमालेले अत्यधिक स्थानमा चुनाव जितेको थियो । त्यसयताका सबै सरकारले उनकै कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् ।
राणाविरोधी आन्दोलनदेखि पञ्चायतविरोधी आन्दोलन हुँदै बहुदल र गणतन्त्रसम्मको संघर्षमा उनी सदा अघिल्लो लाइनमा उभिए । ००८ सालदेखि नै राजनीतिक दलमा आबद्ध भएका उिनले उनले ४ वर्ष भूमिगत जीवन, ३ वर्ष निर्वासन, ३ वर्ष बन्दी जीवन बिताए । राजनीतिमा स्थिर र संयोजनकारी क्षमता भएका सबैका प्रिय नेता हुन् ।

झण्डै सचिवले डुबाएका थिए…

‘ज्येष्ठ नागरिक भत्ताका लागि २५ करोड रुपैयाँ’ लेखेर उहाँलाई ‘यो रकम विनियोजन गर्नुहोस् । यदि यो पैसाले पुगेन भने म मेरो घरबाट दिन्छु’ भनें । मैले यति कुरा भनेपछि उहाँले कुरा बुझ्नुभयो र ‘हुन्छ’ भनी जानुभयो । मलाई भने यो कार्यक्रम कुनै हालतमा तत्कालै सञ्चालन गर्नु थियो । किनकि, अल्पमतको सरकार कुनै पनि बेला ढल्न सक्थ्यो । हुन पनि अर्थसचिवले भनेकै मानेको भए वृद्धभत्ता कार्यक्रम आउने थिएन ।

 २०५२ सालको बजेटबाट ७५ वटै जिल्लामा ७५ वर्षदेखि माथिका महिला तथा पुरुष ज्येष्ठ नागरिकलाई मासिक एक सय रुपैयाँ सरकारले भत्ताका रूपमा दिने घोषणा भई तत्काल कार्यान्वयन हुँदा त्यसबेलादेखि यो ज्यादै चर्चामा आएको हो । जब मैले यो कार्यक्रम अगाडि बढाउने विचार गरें, एक दिन म मन्त्रालयमा बसिरहेको थिएँ । अर्थसचिव रामविनोद भट्टराई आएर भन्नुभयो– ‘मन्त्रीज्यू, हजुरले साह्रै राम्रो कार्यक्रम ल्याउन थाल्नुभयो । तर, एउटा समस्या आयो । यो वृद्धभत्ता कार्यक्रममा कति रकम विनियोजन गर्ने ? त्यो बजेटमा लेख्न नसकिने भयो । किनभने, देशभरि ७० वर्षदेखि माथिका बृद्धबृद्धा नागरिक कति छन् ? त्यसको लगत छैन । लगत नभई कति रकम विनियोजन गर्ने ? २०५२÷५३ को बजेटमा वृद्धभत्ताको कार्यक्रम सञ्चालन गर्न बृद्धबृद्धाहरूको लगत संकलन गर्ने कार्यक्रम राखौं । त्यसका लागि यो बजेटमा रकम विनियोजन गरौं । लगत आइसकेपछि अर्को वर्ष वृद्धभत्ता कार्यक्रम सञ्चालन गरौं ।’ मैले अर्थसचिवलाई टुलुक्क हेरें । म आफूलाई चलाख भन्थें । तर, मभन्दा चलाख रहेछन् अर्थसचिव भन्ने लाग्यो । कार्यक्रमलाई पन्छाउन कस्तो जुक्ति गरेछन् जस्तो लाग्यो । मैले ‘अर्थसचिवज्यू ! एउटा सादा कागज लिएर आउनुस्’ भनेपछि उहाँ जानुभयो र सादा कागज ल्याउनुभयो । मैले ‘ज्येष्ठ नागरिक भत्ताका लागि २५ करोड रुपैयाँ’ लेखेर उहाँलाई ‘यो रकम विनियोजन गर्नुहोस् । यदि यो पैसाले पुगेन भने म मेरो घरबाट दिन्छु’ भनें । मैले यति कुरा भनेपछि उहाँले कुरा बुझ्नुभयो र ‘हुन्छ’ भनी जानुभयो । मलाई भने यो कार्यक्रम कुनै हालतमा तत्कालै सञ्चालन गर्नु थियो । किनकि, अल्पमतको सरकार कुनै पनि बेला ढल्न सक्थ्यो । हुन पनि अर्थसचिवले भनेकै मानेको भए वृद्धभत्ता कार्यक्रम आउने थिएन ।
अर्थमन्त्रीका रूपमा म बंगलादेश जाँदा त्यहाँका परराष्ट्रमन्त्रीले मलाई आफ्नो घरमा न्यानो स्वागत गरे । म चढेको मोटरको ढोका खोल्दै उनले हिन्दुस्थानी बोलीमा भने– ‘मन्त्रीजी आप ने तो कमाल कर दिया । बुढ्ढोको पेन्सन देकर कमाल कर दिया । अब दक्षिण एसियाका सब लोग यह कार्यक्रम लायेगा, सब लोग नेपालका पिछा करेगा ।’ नभन्दै हामीले सुरु गरेको केही समयपछि भारतले पनि यो कार्यक्रम सुरु ग¥यो । बंगलादेशका राजनीतिक पार्टीका घोषणापत्रमा त्यो कार्यक्रम प्राथमिकताका साथ देखाप¥यो ।

देश र जनताको चिन्ता गर्दागर्दै अन्ततः उहाँ चितामा पुग्नुभयो

जीवनसंगिनी सविता अधिकारी

मैले राजनीति गरेदेखि अहिलेसम्म देश, सरकार र पार्टीबाट पाउनुपर्ने जति पद पाइसकेँ । अब मलाई दिनुबाहेक लिनु केही छैन । यत्रो जनमत कम्युनिष्टको पक्षमा उर्लिएको बेला देश र जनताका लागि केही गर्न सके भविष्यमा कम्युनिष्ट पार्टीसँग कसैले प्रतिस्पर्धा गर्न सक्ने थिएन । तर, त्यो अवसर बजेट भाषणदेखि दुईतिहाइको सरकारले गुमाउँदै गएकोप्रति उहाँ चिन्तित हुनुहुन्थ्यो ।

सानेपास्थित भरतमोहन अधिकारीको घरमा उनका जीवनसंगिनी सविता अधिकारी र तीन जना छोरी लुना, लीमा र लीजा किरियामा बसेका छन् । फागुन ३० गते आगामी बिहीबार मनमोहन प्रतिष्ठानमा अधिकारीको तेह्रौ दिनको प्रसाद ग्रहण कार्यक्रम राखिएको छ । तर, नेकपाले भने अधिकारी दिवङ्गत भएको छ दिनमै संयुक्त श्रद्धाञ्जलिसभा गत २३ गते बिहीबार नै सम्पन्न गरेको छ । हेलिकोप्टर दुर्घटनामा परेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै भरतमोहन अधिकारी समेतको संयुक्त श्रद्धाञ्जलिसभा आयोजना गरिने विषयमा अधिकारी परिवारसँग नेकपाले कुनै सल्लाह गरेको थिएन । भरतमोहनको श्रद्धाञ्जलिसभा गर्नु नै थियो भने १३औँ दिनको पुण्यतिथिमा गरेको भए हुन्थ्यो भन्ने परिवारको चाहना थियो । तर, हुलमुलमै भरतमोहनको फोटो झुन्ड्याएर औपचारिकता पूरा गर्ने काम नेकपाले ग¥यो । हिन्दू परम्पराअनुसार भरतमोहनका परिवार तेह्र दिनसम्म काजकिरियामा रहने जानकारी दृष्टिलाई प्राप्त भएको छ ।
किरियामा रहनुभएकी जीवनसंगिनी सविता अधिकारीका अनुसार भरतमोहन अधिकारीले घरपरिवारको चिन्ता कहिले पनि लिनुभएन । उहाँ बाचुन्जेल देश, जनता र पार्टीकै चिन्ता लिनु हुन्थ्यो । घरमा जो भेट्न आए पनि पार्टी, सरकारकै कुरा गरिरहनुहुन्थ्यो । कुनै सभा, समारोहमा जाँदा पनि पार्टीकै कुरा गर्नुहुन्थ्यो ।
पछिल्लो पटक एमाले र माओवादी मिलेर नेकपा बनेपछि उहाँ निकै उत्साहित हुनुभएको थियो । अझ दुईतिहाइ बहुमत पार्टीले ल्याएपछि देश र जनताको मुहारै फेरिने कुरा गर्नुहुन्थ्यो । जब नेकपा सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा बजेट पेश गर्नुभयो, तब उहाँ छाँगोबाट खसेजस्तो हुनुभयो । दक्षिण एशियामै पहिलो पटक मनमोहन अधिकारीको सरकारले शुरु गरेको वृद्धभत्तामाथि नेकपाको दुईतिहाइको सरकारले ‘ब्रेक’ लगायो । त्यो क्षण उहाँका लागि निकै पीडादायक क्षण बन्यो । घरमा आएका जोसँग पनि उहाँले त्यत्रो विद्धान अर्थमन्त्रीले यस्तो बजेट किन ल्यायो भनेर आक्रोश पोख्नु हुन्थ्यो । उहाँ चाहनुहुन्थ्यो, नेकपाको दुईतिहाइको सरकारले देश र जनताको मुहार फेर्ने बजेट ल्याउनुपथ्र्यो । समाजवादउन्मुख बजेट हुनुपथ्र्यो । तर, बजेट त आयो त्यसमा कम्युनिष्टको अनुहार देखिएन । परम्परागत शैलीको बजेट आएकोमा भरतमोहन साँच्चै नै चिन्तित बन्नुभएको थियो ।
उहाँ भन्नुहुन्थ्यो– मैले राजनीति गरेदेखि अहिलेसम्म देश, सरकार र पार्टीबाट पाउनुपर्ने जति पद पाइसकेँ । अब मलाई दिनुबाहेक लिनु केही छैन । यत्रो जनमत कम्युनिष्टको पक्षमा उर्लिएको बेला देश र जनताका लागि केही गर्न सके भविष्यमा कम्युनिष्ट पार्टीसँग कसैले प्रतिस्पर्धा गर्न सक्ने थिएन । तर, त्यो अवसर बजेट भाषणदेखि दुईतिहाइको सरकारले गुमाउँदै गएकोप्रति उहाँ चिन्तित हुनुहुन्थ्यो ।
जीवनसंगिनी सवितालाई अझै सम्झना छ– हरेक बजेट बनाउने बेलामा जुनसुकै सरकारका अर्थमन्त्री किन नहुन् भेट्न आउनुहुन्थ्यो । उहाँसँग बजेटका विषयमा सल्लाह लिनुहुन्थ्यो । देउवा सरकारका अर्थमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका अर्थमन्त्री कृष्णबहादुर महरा, वर्षमान पुन यही घरमा आएर घण्टौँघण्टा बजेटका विषयमा छलफल गर्नुहुन्थ्यो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उहाँलाई बालुवाटारमा बोलाएर सल्लाह गर्नुहुन्थ्यो । तर, दुर्भाग्य नेकपाका अर्थमन्त्री डा. युवराज खतिवडाले एक शब्द सल्लाह पनि लिनुभएन । न त उहाँलाई बोलाएर छलफल गर्ने आवश्यकता नै ठान्नुभयो । यो कुराले उहाँको चित्त दुखेको छ ।
आज अन्तर्राष्ट्रिय नारी दिवस महिलाको नाममा घर जग्गा पास गर्दा मालपोत र कर छुटको व्यवस्था पनि उहाँले नै गर्नुभएको हो । उहाँको सोचले महिला, वृद्धाहरुले धेरै अधिकार पाएका छन् । गाउँगाउँको मुहार फेरिएको छ । समृद्धिको ढोका खुलेको छ । अब कम्युनिष्ट पार्टीले उहाँले देखाएको बाटो हिँड्नुपर्छ ।
उहाँ एक्लै कहिले पनि निर्णय लिनुहुन्नथ्यो । केही निर्णय गर्नुप¥यो भने सामूहिक छलफल गर्नुहुन्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री युवराज खतिवडाले पनि उहाँसँग सल्लाह लिनुभएको भए कम्युनिष्ट पार्टीको बजेट हाईहाई हुन्थ्यो । अस्पतालमा बिहान बेलुकी उहाँको रेखदेख गर्नुहुने कृष्ण आचार्यसँग पनि उहाँले देशकै चिन्ता, पार्टीकै चिन्ता गर्नुहुन्थ्यो । अन्ततः देश, पार्टीको चिन्ता गर्दागर्दै चितामा जानुभयो ।

प्रतिक्रिया दिनुहोस्