Logo
Logo

माथिल्लो चमेलिया निर्माण धमाधम, ३० प्रतिशत काम सम्पन्न


दृष्टि संवाददाता


दार्चुला । मार्मा गाउँपालिका–२ घट्टेगढमा निर्माणाधीन ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको काम धमाधम भइरहेको छ । कोरोना कहरबीच पनि निर्धारित समय सीमाभित्रै काम सक्ने गरी जलविद्युत निर्माणको काम भइरहेको हो ।

‘ड्याम, पावर हाउसलगायत क्षेत्रमा काम भइरहेको छ, कोरोनाको बेला पनि काम रोकिने अवस्था छैन’, माथिल्लो चमेलिया जलविद्युत आयोजनाका आयोजना म्यानेजर धर्मराज उपाध्यायले भने, ‘अहिले मजदूरहरु सबै यहीँ खटिएका छन्, भएकै मजदूरको प्रयोग गरिन्छ, आयोजनाका लागि ठूला उपकरण पनि पुर्याइएको छ, आयोजनालाई समयमै सक्नका लागि सबै लागिपरेका छौँ, ३० प्रतिशत हाराहारीमा आयोजनाको काम सकिएको छ ।’

आयोजनाको बाँध क्षेत्रमा संरचना निर्माणको काम चलिरहेको छ । चमेलिया नदी फर्काउने, बालुवा थिग्राउने र पोखरीको काम अहिले चालू छ । पाइप जडानका लागि काम भइरहेको बताइएको छ । नहर खन्ने कामसँगै अघि बढाइएको छ । ‘आयोजनामा सबै संरचना निर्माणको काम धमाधम हुँदैछ’, उपाध्यया भन्छन्, ‘अहिलेको अवस्थामा कोरोनाले धेरै असर पुर्याउन सकेन भने समयमै काम सक्छौँ, ४० मेगावाटको आयोजना भए पनि यसमा सुरुङको प्रयोग गरिने छैन ।”

चमेलिया नदीको पानी विद्युतगृहमा खसाल्न ३.३ मिटर व्यास भएको ६.३ किलोमिटर लामो ‘लो प्रेसर’ पाइप राखिने छ । पाता आयात गरेर आयोजनास्थलमै पाइप तयार गरेर जडान शुरु गरिएको छ । यसमा पनि मेकानिकल इन्जिनीयर र मजदूर खटिएका छन् ।

मेकानिकल स्थलमा अहिले पाता जडानको काम तीव्र गतिमा भइरहेको उपाध्याय बताउँछन् । आयोजना निर्माणमा खटिएका कर्मचारी र मजदूरको सक्रियता बढेको छ ।

बिद्युतगृहको संरचना निर्माणका लागि जग खनेर ढलान शुरु हुने तयारी छ । आयोजना निर्माणको ठेक्का चन्द्र एन्ड वसन्त र ग्वालेक निर्माण सेवा जेभी तथा लटीनाथ कन्स्ट्रक्शन कम्पनीलाई दिइएको छ ।

चन्द्र एन्ड वसन्त र ग्वालेक निर्माण सेवा जेभीले बाँध क्षेत्रमा काम गरिरहेको छ । लटीनाथ कन्स्ट्रक्शनले विद्युत् गृहमा काम गरिरहेको छ । यो आयोजना २०७९ साल फागुनबाट विद्युतथ उत्पादनको लक्ष्य लिइएको छ ।

निर्माणमा स्थानीयवासीको अवरोध नहुँदा काम गर्न सहज भएको आयोजनाले जनाएको छ । ‘हामीले सबैको सहयोग पाएका छौँ’, अपी पावर कम्पनीका निर्देशक इन्द्रमणि त्रितालले भने, ‘सडकको पहुँच पुगेकाले पनि काम गर्न सहज भएको छ, अहिलेसम्मको कामको प्रगति हेर्दा लक्ष्य अघि नै सम्पन्न हुनेमा हामी ढुक्क छौँ ।’

आयोजनाबाट उत्पादन हुने विद्युत १३२ केभी बलाँच सबस्टेशनमा जोडिने छ । आयोजनाको विद्युतगृहदेखि सबस्टेशनसम्मको दूरी १६ किलोमिटर छ ।

सबस्टेशनसम्म आवश्यक १६ किलोमिटर प्रसारण लाइनका ५७ खम्बा कम्पनीले नै निर्माण गर्दैछ । खम्बा निर्माणका लागि पनि उपकरण ढुवानी भइरहेको आयोजनाले जनाएको छ । प्याराडाइज बिल्डर कम्पनीले प्रसारण लाइनको काम गरिरहेको छ ।

यो आयोजना सम्पन्न गर्न रु सात अर्ब ४० करोड लागत अनुमान गरिएको छ । आयोजनामा छ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्