Logo
Logo

भारतमा कोरोनाबाट एकैदिन ४१८७ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दैनिक बढिरहेका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १ सय ८७ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि भारतमा मंगलबार कोरोनाले ३ हजार ९ सय ९० को मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेका थिए ।

यस्ते, पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १ हजार ७८ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार भने भारतमा एकैदिन अहिलेसम्मै उच्च ४ लाख १२ हजार २ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा अहिलेसम्म २ करोड १८ लाख ९२ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ७९ लाख संक्रमणमुक्त भएका छन् ।
त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३८ हजार २ सय ७० पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १८ हजार ६ सय ९ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख २३ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १८ लाख ८ हजार ३ सय ४४ नमुना परीक्षण भएको थियो । भारतमा मंगलबारसम्ममा करिब १६ करोड ७३ लाख डोज खोप लगाइएको छ । भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्