काेराेनाविरुद्ध लड्न नेपाललाई सक्दो सहयोग गर्नेछौँ : चीन « Drishti News – Nepalese News Portal
Logo

काेराेनाविरुद्ध लड्न नेपाललाई सक्दो सहयोग गर्नेछौँ : चीन


दृष्टि संवाददाता


काठमाडौं । चीनले कोरोनाभाइरस महामारी रोकथामका लागि नेपाललाई आवश्यक स्वास्थ्य सामाग्रीको चाँडै आपूर्ति गर्ने बताएको छ ।

शुक्रबार चिनियाँ विदेश मन्त्रालयद्वारा बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वन पिनले यस्तो घोषणा गरेका हुन् । उनले कोरोना महामारीविरुद्ध नेपाललाई सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

कोरोनाको दोस्रो लहरका कारण नेपालमा सिर्जिएको स्वास्थ्य संकटबारे चीन जानकार रहेको बताएँदै उनले आवश्यक सहयोग गर्न तयार रहेको बताए । प्रवक्ता वाङले नेपालमा दैनिक संक्रमण संख्या उचाइमा पुगेको र अवस्था भयावहतर्फ उन्मुख भएको बताउँदै भने, ‘कोभिड महामारीविरुद्ध नेपाललाई चाहिने सबै स्वास्थ्य सामाग्री संकलन भएको छ र हामी चाँडै आपूर्ति गर्न तयार छौँ ।’

उनले छिमेकी र रणनीतिक साझेदार मित्रको हैसियतले चीन र नेपालले सहकार्यको हात अघि बढाएको र महामारी सुरु भएयता दुई मुलुकबीच मित्रताको नयाँ अध्याय सुरु भएको पनि बताए ।

हालै नेपालसहितका चार दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरुको भर्चुअल बैठकमा चिनियाँ विदेशमन्त्रीले नेपाललाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्