Logo
Logo
समाचार विश्लेषण

महासंकटमा ओली- न आफ्नाको साथ, न पराइको हात


दृष्टि संवाददाता


काठमाडौं । केही दिनयता नेकपा एमालेमा आन्तरिक बिग्रहको सरगर्मी बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिँदै गर्दा एमालेमा राजनीतिक सरगर्मी बढेको हो । प्रधानमन्त्री आफैँले पनि बुझेका छन् कि अब ‘बालुवाटारको बास’ धेरै दिन छैन । तर, पनि बास लम्बाउने कोसिस जारी छ ।

प्रधानमन्त्री ओली अबको कति दिन बालुवाटार रहन्छन् भन्ने फैसला बैशाख २७ गते सर्वभौम सदनमा हुनेछ । जहाँ, प्रधानमन्त्रीले मागेको विश्वासको मत पाउन मुश्किल छ । विश्वासको मत नपाएसँगै ‘बाईबाई बालुवाटार’ भन्नुको विकल्प हुने छैन ।

महन्थः ओलीका एक्ला सारथी
प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)को भरोसामा विश्वासको मत माग्ने निर्णय गरेका हुन् । तर, अन्मित अवस्थामा ओलीलाई जसपाको साथ नमिल्ने पक्का भयो । जसपाको साथ पाएपनि महन्थ ठाकुरसँग भएका केही मत ओलीको पक्षमा रहन्छ । तर, त्यो मतले ओली सरकारलाई ‘टेको’ दिन सक्दैन ।

केही समय अगाडिसम्म जसपाको आधा मतभार बोकेका महन्थ ठाकुर र राजेन्द्र महतो केपी ओलीलाई विश्वासको मत दिनुपर्ने पक्षमा थिए । तर, पछिल्लो राजनीतिक घटनाक्रमले महतो ओलीलाई विश्वासको मत नदिने पक्षमा पुगिसेका छन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ओलीलाई विश्वासको मत दिने कुरा भएन । सरकार ढाल्न र गठन गर्न अहिलेको अवस्थामा स्वतन्त्र मतको खासै अर्थ रहँदैन । त्यसैले महन्थ ठाकुर ‘ओलीका एक्ला सारथी’ बन्न पुगेका छन् । जुन सारथी हुनु र नहुनुमा तात्विक अर्थ छैन ।

राष्ट्रपतिको अर्थहीन प्रयत्न
प्रधानमन्त्री ओलीको छटपट्टि बढेको छ । आफ्नो पार्टीको मत सुरक्षित गर्न प्रधानमन्त्रीले राष्ट्रपति नै परिचालन गरे । ‘एमाले एकता’को नाममा राष्ट्रपति विद्यादेवी भण्डरीको सक्रियता बढेको छ । राष्ट्रपतिको सक्रियता एमाले एकताका लागि भनिएता पनि मुल उद्देश्य प्रधानमन्त्रीको कुर्सी जोगाउनु हो । सोही योजनामा राष्ट्रपतिले वरिष्ठ नेता माधवकुमार नेपालसहित नेतासँग छलफल गरेका हुन् ।

राष्ट्रपतिले ‘मिल्नुस’ भन्दैमा माधव नेपाल समूह ओलीसँग लुरुक्क पर्ने अवस्था देखिँदैन । सत्ता र शक्तिमा पहुँच स्थापित गरेदेखि आजसम्म ओलीले नेपाल समूहलाई गरेको अपमान र अवहेलनाका कारण ओलीका लागि नेपाल समूह थप लचिलो बन्ने ठाउँ देखिँदैन । नेपाल र नेपाल समूहको कुनै पनि ‘स्टेटमेन्ट’ ओलीसँग लचक छैन ।

स्पष्टीकरण, निलम्बन वा अनेक नाममा ओलीले खर्भरै गरेका अपमान र अवहेलना भूल्न माधव समूह यति चाँडै तयार हुन सक्दैन । त्यसैले राष्ट्रपति वा अरु कुनै शक्ति प्रयोग गरेपनि ओलीका लागि माधव समूह सकारात्मक बन्न सक्ने देखिन्न ।

फ्लोर क्रस वा सामूहिक राजीनामा ?
माधवकुरमा नेपाल समूहलाई पनि सहज छैन । बैशाख २७ गतेको निर्णयले एमालेको भविष्य निर्र्धारण गर्ने भएकाले सामन्य कुरा होइन । प्रधानमन्त्रीले विश्वासको मत लिने सन्दर्भमा नेपाल समूहले ‘फ्लोर क्रस’ वा ‘सामूहिक राजीनामा’ मध्ये एक निर्णय लिने चर्चा हुँदै आएको छ । यी दुईमध्ये जुनै निर्णय लिए पनि ओलीको सत्ता सिध्याउने अश्त्र हुन्छ ।

आफ्नै पार्टीको सरकार ढाल्न गरेको निर्णय भएपनि ‘कम हानिकारक’ निर्णयतर्फ माधव समूहको ध्यान जाने देखिन्छ । त्यसो हुँदा ‘सामूहिक राजीनामा’को सम्भावना रहन्छ । समूहिक राजीनामा भए सत्ताबाट ओलीको बहिर्गमनसँगै राजनीतिक कोर्ष परिवर्तन हुनेछ ।

संकटमा एक्लो ओली
राजनीतिक जीवनकै संकटमा छन्, प्रधानमन्त्री ओली । यस पटक सत्ता उम्के सत्तारोहणको अर्को परिवेश बन्न सहज छैन । विविध कारण लगभग ‘सत्ता रजगज’ ओलीका लागि अन्तिम भन्ने विश्लेषणसमेत हुने गरेका छन् ।

सत्तामात्र गुम्दै छैन । आफ्नै कारण आफ्नै नेतृत्वको पार्टी नै विभाज हुने भएको छ । त्यसको दोषसमेत आफैंले बोक्नुपर्ने छ । त्यसैले त ओली चरम संकटमा छन् । र, संकट मोचनका अनेक विकल्प खोज्दैछन् । तर, समय ढल्दै गएको छ ।

भनिन्छ, संकटको बेला साथ चाहिन्छ । तर, ओलीका लागि त्यो भनाइ लागू हुन नसक्ने देखिन्छ । संकटमा कसैको साथ छैन, ओलीलाई । ओलीलाई ‘न आफ्नाको साथ न पराइको हात’ भएको छ । सत्ता बर्हिगमन एकमात्र विकल्प बनेको छ । यत्तिबेला ओलीका लागि एक उक्ति उत्तम होला, ‘किन रोइस् मंगले, आफ्नै ढंगले’ !

प्रतिक्रिया दिनुहोस्