Logo
Logo

डोटीमा अक्सिजनसहित ३५ शय्याको आइसोलेशन बन्दै


दृष्टि संवाददाता


डोटी । डोटीका स्थानीय सरकारले क्वारेन्टिन तथा आइसोलेशन निर्माण नगरेको भन्दै आरोप लागिरहेका बेला पूर्वीचौँकी गाउँपालिकाले अक्सिजनसहित ३५ शैयाको कोरोना अस्पताल निर्माण थालेको छ ।

कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमणले जिल्लामा आक्रान्त बनाउन थालेपछि बल्ल गाउँपालिकाले अक्सिजनसहितको आइसोलेशन निर्माण शुरु गरेको हो । गाउँपालिकाको केन्द्र सानागाउँमा रहेको सरस्वती आधारभूत विद्यालयलाई आइसोलेशन बनाउने कार्यपालिकाबाट निर्णय गरिएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । उनले भने, ‘जिल्लामा कोरोना संक्रमण बिरामी दिनहुँ बढ्दै जान थालेका छन्, उपचार गर्ने ठाउँ अभाव भएका कारण हामीले सुविधा सम्पन्न आइसोलेशन निर्माण गर्न थालेका हौँ ।’

दुई नगरपालिका तथा सात वटा गाउँपालिकासहित नौवटा स्थानीय तह रहेको डोटीमा अहिलेसम्म अन्य कुनैपनि स्थानीय तहले आइसोलेशन कक्ष निर्र्माण गर्न सकेका छैनन् । आइसोलेशन निर्माणका लागि हस्पिटलमै प्रयोग हुने ३५ वटा बेडहरु ल्याइसकिएको र आइसोलेशन निर्माण तथा व्यवस्थापन गर्ने कामको थालनी भइरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले जानकारी दिए । आइसोलेशनमा अक्सिजन सिलिण्डर राख्नका लागि आपुर्तीकर्तासँग समन्वय भईरहेको पनि उनले बताए ।

यस्तै, गाउँपालिकाले सञ्चालनमा ल्याएका दुई वटा बसहरुलाई पनि आवश्यकताका आधारमा एम्बुलेन्सका रुपमा प्रयोग गर्न सकिने निर्णय भएको बताइएको छ । यसका साथै कोभिड–१९ बाट संक्रमित सबै बिरामीहरुको गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । जिल्लामा कम्तिमा पनि दुई सय ३२ जना भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेको बताइएको छ । कोरोनाकै कारण दुई जना घरैमा र दुई जना अस्पतालमा गरी कुल चार जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्