Logo
Logo

अक्सिजन सिलिण्डर विक्री वितरणमा मन्त्रालयको सिफारिस अनिवार्य


दृष्टि संवाददाता

693
Shares

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर तीव्ररुपमा फैलिनेक्रम सँगै अक्सिजन सिलिण्डरको अभाव देखिएको छ । अक्सिजनकै अभावका कारण विमारीले ज्यान गुमाउन थालेपछि सरकारले सिलिण्डर विक्री वितरणमा कडाइ गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयको सिफारिसविना अक्सिजन सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको छ । कोभिड–१९ का संक्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिसविना कुनैपनि सरकारी वा निजी अस्पताललाई अक्सिजन ग्यास सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको हो ।

मन्त्रालयको विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका महाशाखा प्रमुख डा गुणराज लोहनीले सूचना जारी गर्दै कोभिड–१९ को दोस्रो लहरका कारणले धेरै संक्रमितलाई अक्सिजन आवश्यक पर्ने भएकाले ग्यास उत्पादकलाई मन्त्रालयको सिफारिसविना अस्पताललाई ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेका हुन् ।

‘कोभिड–१९ महामारीको दोस्रो लहरमा धेरै संक्रमितलाई अक्सिजनको आवश्यकता परिरहेको सन्र्दभमा अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्न आवश्यक भएकाले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसविना कुनैपनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई ग्यास सिलिण्डर भरी बिक्री वितरण नगर्न हुन अनुरोध गरिन्छ’ जारी सूचनामा भनिएको छ ।

मन्त्रालयले कान्तिपुर अक्सिजन प्रालि, सगरमाथा अक्सिजन प्रालि, अक्सिटेक अक्सिजन प्रालि, नवज्योति अक्सिजन प्रालि, हाम्रो अक्सिजन प्रालि, सोपान फर्मास्युटिकल्स प्रालि, हिमाल अक्सिजन प्रालि, सीता अक्सिजन प्रालि, शंकर अक्सिजन प्रालिलगायत सबै अक्सिजन ग्यास आपूर्तिकर्तालाई पत्र लेख्दै मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन बिक्री गर्न अनुरोध गरेको छ ।

सूचनामा मन्त्रालयको सिफारिसविना बिक्री वितरण गरिएको पाइएमा कारवाही गर्नेसमेत जनाइएको छ । सरकारले अक्सिजनको अभाव हुन नदिनका लागि चीन सरकारबाट २० हजार खाली अक्सिजन सिलिण्डर ल्याउन थालेको छ ।

पहिलो चरणमा ४०० खाली अक्सिजन सिलिण्डर ल्याउन यही वैशाख २७ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाज सोमबार चीन जाँदैछ ।

प्रतिक्रिया दिनुहोस्