Logo
Logo

समन्वयको अभावले काठमाडौंका अधिकांश सडक निर्माण ठप्प


रासस


काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको रोकथामका लागि जारी निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा अधिकांश सडक निर्माण ठप्प बनेको छ ।

फाइल तस्बिर

सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सडक निर्माण अघि बढाउन सकिने निर्णय गरे पनि समन्वयका अभावमा निर्माण अघि बढ्न सकेको छैन ।

निषेधाज्ञासम्बन्धी निर्णयमा कुनै पनि आयोजना आफैँले नै सवारी पास दिन सक्ने उल्लेख छ । अहिले काठमाडौँका चोकचोकमा खटिएका सुरक्षाकर्मीले जिल्ला प्रशासन कार्यालयले नै जारी गरेको पास नभई नमान्ने गरेको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताए । उनले भने, ‘प्रशासनको निर्णय फिल्डमा खटिने व्यक्तिले नै नबुझेकाले गाडी समाउने गर्नुभएको छ ।’

प्रशासनले अहिले पूर्वाधार निर्माण ठप्प गर्न नचाहेको देखिए पनि बुझाइमा फरक परेकाले काम अघि बढाउन कठिन भइरहेको प्रमुख नेपालीले बताए । उपत्यकामा खटिएका सुरक्षाकर्मीले नबुझेकै कारण गाडी रोकिरहेको देख्न सकिन्छ । उनले भने, ‘प्रहरी र ट्राफिक प्रहरीले चोकैपिच्छे निर्माण सामग्रीको गाडी रोकिदिँदा काम अघि बढ्दैन ।’

प्रशासनले न्यूनतम सङ्ख्यामा कामदार राखी स्वास्थ्य सावधानी अपनाएर निर्माणको काम अघि बढाउने निर्णय गरेको थियो । अधिकांश काम रोकिएपछि अहिले दुईतीन जनाले गर्ने काम मात्रै भइरहेको प्रमुख नेपालीले बताए ।

विभिन्न स्थानमा अहिले पैदलयात्रु मार्ग निर्माण र सडक चिह्न लगाउने काम भइरहेको छ । झट्ट हेर्दा काम भइरहेको जस्तो देखिए पनि निर्माणका हिसाबले ठप्प भएको उनको भनाइ छ । बजेट र डिभिजनको जिम्मेवारीका हिसाबले यो ज्यादै सानो काम हो । उनले भने, ‘अहिले मुख्य सडकमा देखिएको काम भनेको डिभिजनले गर्नुपर्ने काममध्ये असाध्यै कम हो ।’

निषेधाज्ञा जारी भएको एक सातासम्म निर्माण व्यवसायी र कम्पनीका इञ्जिनीयर सडकमा निस्कन पाएका थिएनन् । अहिले पनि अवरोधका कारण काम अघि बढाउन सकिएको छैन । डिभिजनले कुनै पनि स्थानमा निर्माण गर्दा स्थानीयवासीसँग नजीक हुन नपर्ने काम गरौँ भन्दै आएको छ ।

सङ्क्रमणको जोखिमलाई विचार गरेर डिभिजनले पनि अहिलेको अवस्थामा सामान्य अवस्थामा जसरी काम गर्न नचाहेको प्रमुख नेपालीले बताए । ‘अहिले सडक खाली हुँदा गर्न सकिने काम वा वर्षा पहिले गर्नुपर्ने काम गरौँ भन्दा सकिएको छैन ।’

काठमाडौँमा सवारी चाप बढिरहेका सडकमा सामान्यावस्थामा कालोपत्र थप्ने काम (ओभरले) गर्न गाह्रो हुन्छ । अहिले सवारी चाप कम भएका कारण निर्माण गर्न सजिलो हुन सक्ने डिभिजनले जनाएको छ । वर्षा पहिले गर्नुपर्ने ‘ओभरले’ गरेर खाल्डा छोप्दा मात्रै सडक राम्रो अवस्थामा हुन्छ । त्यो गर्न नसक्दा वर्षा सकिएपछि सबैतिर खाल्डैखाल्डा देखिन्छ ।

काठमाडौँमा निर्माणको काम हुने भएकाले धेरै मजदूर निर्माणस्थलमा छन् । निर्माण अघि बढाउने वातावरण नभएपछि उनीहरु त्यसै बस्नुपर्ने अवस्था छ । ती मजदूर घर फर्किएर गएमा यस वर्ष पुनः काम गर्न नसकिने प्रमुख नेपालीले बताए । उनले भने, ‘भएका मजदूरलाई परिचालन गरेर काम गर्न पनि सकिएको छैन ।’

चालु आवभित्रै गरिसक्नुपर्ने निर्माणको काममा ढिलाइ हुँदा धेरै कुरामा असर गर्ने प्रमुख नेपालीले बताए । सरकारले निर्माणाधीन ठेक्कामा निर्माण व्यवसायीलाई अहिले पूँजीगत खर्च दिन सक्ने भए पनि नहुँदा अर्काे आव शुरु भएपछि पुनः एक वर्ष धकेलिन्छ । त्यस्तै ठेक्काको अवधि सकिनै लागेकामा पनि काम गर्ने वातावरण नभएपछि अवधि थप गर्नुपर्ने हुन्छ । निर्माण व्यवसायीलाई पनि बैंक ग्यारेन्टी र बीमाको विषय जोडिन्छ । उनले भने, ‘समग्रमा काम हुन नसकेपछि खर्च बढ्न जान्छ ।’

देशभरका सबै सडक योजनामा अन्तिम चौमासिकमा भौतिक र आर्थिक दुवै प्रगति उल्लेखीय रुपमा हुने गरेको छ । विभाग वा डिभिजनका कारणभन्दा पनि निर्माण व्यवसायी आर्थिक वर्षका अन्तिममा बाँकी काम हतार गरेर पनि सकाउने गर्छन् । चालु आव पनि काम गर्ने मुख्य समयमा निर्माण ठप्प हुँदा चौमासिक र वार्षिक लक्ष्य पूरा नहुने देखिएको छ ।

गत आवमा पनि अन्तिम चौमासिकको शुरुदेखि (चैत ११ ) देखि नै सरकारले बन्दाबन्दी लागु गरेको थियो । सो समयमा अधिकांश सेवा ठप्प हुँदा पनि कतिपय स्थानमा पूर्वाधार निर्माण अघि बढाइएको थियो । सवारी चाप कम भएकै मौकामा काठमाडौँ डिभिजनले मुख्य सडकमा ‘ओभरले’ गरेको थियो ।

डिभिजनले विभिन्न स्थानमा सडक चिह्न लगाउने काम पनि गरेको थियो । बन्दाबन्दीका अवधिमा भएका निर्माणका कारण त्यसपछि काठमाडौँ उपत्यकाका सडक सुन्दर देखिएका थिए । अहिले निषेधाज्ञा जारी भएको १० दिनसम्म निर्माण ठप्प छ ।

प्रतिक्रिया दिनुहोस्