Logo
Logo

वामदेव किन ‘फायर’ भए ओलीसँग ?


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ को कदमपछि तटस्थ रहँदै आएका एमाले उपाध्यक्ष वामदेव गौतमले अन्ततः आफू माधव नेपाल पक्षमा रहने धारणा सार्वजनिक गरेका छन् ।

पार्टी एकता राष्ट्रिय अभियानमार्फत एकताका सम्भावनाहरु खोज्दै हिँडेका गौतमले केपीकै कारण एमाले एक हुन नसक्ने निश्कर्ष निकालेपछि सोमबार माधव पक्षमा सामेल हुने धारणा व्यक्त गरेका हुन् । उनले प्रेस सल्लाहकार विश्वमणि सुवेदीमार्फत धारणा सार्वजनिक गरे ।

एमाले अध्यक्ष ओलीसँगको कुराकानीबारे सार्वजनिक धारणामा पार्टीलाई २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने गौतमको आग्रह नमानेपछि आफूले ओलीलाई साथ नदिने बताएको उल्लेख छ । ‘म २०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन’ भनी ओलीले वामदेवलाई जवाफ दिएपछि वामदेवले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभएको हो भनी सुवेदीले लेखेका छन् ।

त्यस्तै, माधव नेपाल समूहले एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा आफ्नो सहमति नभएको भन्दै यदि उक्त समूहले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर गएमा आफू सहभागी हुने उल्लेख छ ।

यसअघि प्रधानमन्त्री ओली कहिले वामदेव निवास भैंसेपाटी पुग्ने त कहिले बालुवाटारमै बोलाएर ‘डिनर’ खुवाउँदै आफूलाई साथ दिन अनुरोध गर्दै आएका थिए । तर, गौतमले एकताका लागि तयार हुन गरेका आग्रह ओलीले नमानेका कारण अन्ततः आफू प्रष्ट हुनुपर्ने भएको गौतमले बताएका छन् । सोमबार दृष्टिसँग कुरा गर्दा उनले भने, ‘मैले एकताका लागि गरेका आग्रह केही पनि नमान्ने, उहाँका कुराचाहिँ सबै मानिदिनुपर्ने स्थितिमा कसरी उहाँसँग जान सकिन्छ ?’

प्रतिक्रिया दिनुहोस्