Logo
Logo

अक्सिमिटर कालोबजारीमा संलग्न ७ जना पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । शरीरको पल्स र अक्सिजनको मात्रा नाप्न प्रयोग गरिने अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा ७ सय ६५ थान अक्सिमिटर सहित ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने सिन्धुली कमलामाई नगरपालिका–४ घर भएका २९ वर्षीय शिखर श्रेष्ठ, ललितपुर महानगरपालिका–५ कुपण्डोल बस्ने बाजुरा खप्तड गाउँपालिका–६ घर भएका २१ वर्षीय थुमराज उपाध्याय, ललितपुर ग्वार्को बस्ने स्याङजा पंचमुल गाउँपालिका–६ घर भएका २७ वर्षीय शेषकान्त अधिकारी, काठमाडौं भिमसेनगोला बस्ने सुनसरी ईनरुवा नगरपालिका–६ घर भएका ३९ वर्षीय पुष्कर घिमिरे रहेका छन् ।

त्यस्तै काठमाडौं अनामनगर बस्ने मोरङ बिराटनगर महानगरपालिका–२ घर भएका ४४ वर्षीय बिशाल आचार्य, काठमाडौं बागबजार बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ घर भएका २१ वर्षीय सन्तोष भण्डारी र काठमाडौं ढुङगेअड्डा बस्ने भारत राजस्थान झुन्झुनु घर भएका ५५ वर्षीय जगदिश प्रसाद रानासरिया पक्राउ परेका छन् ।

अक्सिमिटरको अत्यधिक माग भइरहेको अवस्थाको फाइदा उठाउँदै औषधिजन्य पसल एवं फर्माहरुले सर्वसाधरण नागरिकहरुलाई बजार मूल्य भन्दा बढी मूल्य लिई अक्सिमिटर खरिद ब्रिक्री गरी कालोबजारी गरेको सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्रिाउ गरेको हो ।

सोही क्रममा उत्पादन मिति, म्याद समाप्त मिति, बिक्री मूल्य, उत्पादक कम्पनीको नाम लगायत केही उल्लेख नभएको कमसल, गुणस्तरहीन र कम मूल्य भएका अक्सिमिटर फेला पारी बरामद गरिएको छ ।

उनीहरुले बजार मूल्य ७ सय पर्ने उक्त अक्सिमिटरहरु २ हजार २ सय २० रुपैयाँसम्म बिक्री गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई कालोबजारी ऐन अन्तर्गत आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्