Logo
Logo

घरमै बसेर आफैं कोरोना परीक्षण गर्न सकिने


दृष्टि संवाददाता


एजेन्सी । घरमै बसेर आफैं कोरोना परीक्षण गर्न सकिने किट्स दक्षिण कोरियाका बजारमा किन्न पाइने भएको छ । दक्षिण कोरियाको स्थानीय बायोटेक फर्म एसडी वायोसेन्सर र हुमासिस दुई औषधी निर्माता कम्पनीले विकसित गरेका दुई किट्स गत हप्तादेखि फार्मेसी, सुपरमार्केट, र अनलाइन च्यानलहरुमा समेत सजिलै पाइन थालेको हो ।

जीएस–२०, सेभेन–११ तथा अन्य साना सुविधा स्टोरहरुमा पनि यो किट बुधबारदेखि सजिलै किन्न सकिने बताइएको छ । यसबाट १५ मिनेटमै कोरोना लागे÷नलागेको पत्ता लगाउन सकिने दावी गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार यसको मूल्य प्रति किट्स ७ हजारदेखि ९ हजार वोन अर्थात नेपाली रुपैयाँ ७ सयदेखि ९ सय रुपैयाँसम्म पर्छ ।

आफैं परीक्षण गर्न मिल्ने किटले अहिले अन्य देशहरुमा पनि आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेको छ । कोरोनाको शंका लागेमा वा लक्षण देखिएमा प्रारम्भिक परीक्षणको लागि सजिलै घरमा रिजल्ट हेर्न सकिने हुँदा अस्पतालमा हुने भीडभाडमा कमी तथा कोरोना संक्रमण दर कम हुने भएकाले दक्षिण कोरियाली सरकारले यो किट सर्वसाधारणलाई उपलब्ध गराउन थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्