Logo
Logo

गण्डकीमा नयाँ सरकार गठन जनमोर्चाका कारण विफल


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका दुई सांसद पार्टीको निर्णयविरुद्ध उभिएपछि नयाँ सरकार गठन अवरुद्ध भएको छ । जनमोर्चामा तीन सांसदमध्ये दुई जना पार्टीको निर्णय विपरित उभिएका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा र खिमविक्रम शाही पार्टीको निर्देशनविपरित उभिएका छन् ।

प्रदेशसभाको अंक गणितमा बहुमत जुटाउन राष्ट्रिय जनमोर्चाको मत निर्णायक हुन्छ । नयाँ सरकार गठनका लागि राष्ट्रिय जनमोर्चाको समर्थन अनिवार्य छ ।

आफूविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव विफल तुल्याउन नसकेपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएका थिए । उनको राजीनामासँगै प्रदेश प्रमुखले दलहरूलाई तीन दिनभित्र बहुमत जुटाएर सरकार गठनका लागि आउन दिएको समयसीमा बुधबार समाप्त हुँदैछ ।
काँग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा सरकार बनाउन प्रयास भएपनि जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले काँग्रेस नेतृत्वको गठबन्धनलाई कुनै पनि हालतमा सहयोग नगर्ने अडान लिएका छन् ।

यसअघि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुने कार्यसूची रहेकै दिन जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएका थिए । प्रदेश प्रमुख सीता कुमारी पौडेलले दुई वा दुईभन्दा बढी दलको सहमतिमा नयाँ सरकार गठनका लागि तोकेको तीन दिनको समयसीमा बुधबार ४ बजे सकिँदैछ । काँग्रेस नेतृत्वको गठबन्धनले बहुमत जुटाउन सफलता नपाएको अवस्थामा पुनः पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री बन्ने बाटो खुला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्