Logo
Logo

आज रातो मच्छिन्द्रनाथको रथारोहण


दृष्टि संवाददाता


काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथारोहण आज हुँदैछ ।

हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार आज दिउँसो रथारोहण गर्न लागिएको हो । रथारोहण गर्ने साइत बिहानैको थियो ।

फाइल तस्बिर

सो समयमा साङ्केतिक रूपमा मच्छिन्द्रनाथलाई हल्लाउने काम भयो । रथ निर्माणको काम अझै जारी रहेकाले दिउँसो ४ देखि ५ बजेभित्रमा रथारोहण गर्ने भएको सो गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए । उनले भने, ‘रथ निर्माणको काम सम्पन्न भएपश्चात रथारोहण गर्न जाने तयारी भइरहेको छ ।’

हाल विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड महामारीलाई ध्यानमा राखी सरकारले तोकेको नियम पालना गरी करुणामयलाई रथमा विराजमान गर्न लगिने जोशीको भनाइ छ ।

लोेकेश्वरलाई आज दिउँसो रथारोहण गर्न लानुपूर्व कटुवालदहबाट कलश यात्रा गरेको ल्याएको जल उहाँको पाउमा अर्पण गरिन्छ । सो काम गरेपछि पुजारीले भजन अनि पाठ गर्छन् ।

भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवको प्रतिनिधिका रूपमा केही मानिस तःबहाल उपस्थित भएपछि विधिपूर्वक मच्छिन्द्रनाथलाई रथारोहण गर्न पुल्चोक लगिने मूल पुजारी कमलराज बज्राचार्यले बताए ।

‘लोकेश्वरलाई रथमा विराजमान गराउन लाँदा गुरुज्यूको पल्टनको उपस्थितिमा चारजना पानेजुले रथ बोक्छ्न भने एक व्यक्तिले लोकेश्वरलाई छाता ओठाउँछन् त अर्का एक व्यक्तिले हातमा खड्ग समाती जय–जयकार गर्दै पुल्चोक पु¥याइन्छ’ उनले भने ।
मुलुकमा दिनानुदिन देखिएको कोरोना कहरलाई ध्यानमा राखी आवश्यक मानिसको सहभागितामा मच्छिन्द्रनाथलाई पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइने बज्राचार्यले जानकारी गराए ।

दिउँसो हुने रथारोहणको तयारीका लागि आवश्यक काममा आफूहरू लागिपरेको ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताए ।
गत वर्ष भने कोरोना महामारीका कारण नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा लोकेश्वरलाई रथारोहण गराइएको थियो । यो वर्ष कोभिड त्रास हुँदाहुँदै पनि सदियाँै वर्षअघि देखि चल्दै आएको चलनानुसार आजकै दिनमा रथारोहण गर्न लागिने भएको छ । यही वैशाख १५ गते चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराउने काम सम्पन्न भयो ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ । मच्छिन्द्रनाथलाई छ महिना पाटनको तःबहाल र छ महिना बुङ्मतीमा राख्ने चलनानुसार गत मङ्सिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको छ ।

किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।

यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्