Logo
Logo

इतिहास शिरोमणिको सम्झना


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० फागुन । इतिहास शिरोमणि बाबुराम आचार्यको १३२आँै जन्मजयन्तीका अवसरमा विचार गोष्ठीको आयोजना गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभाग र इतिहासशिरोमणि बाबुराम आचार्य समृति प्रतिष्ठानद्वारा संयुक्त रूपमा गोष्ठीको आयोजना गरिएको हो ।
‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बाबुराम आचार्य इतिहासशिरोमणिमात्रै नभएर प्राज्ञशिरोमणि पनि भएको बताए । उनले नेपालको तथ्यगत इतिहास लेखनमा आचार्यको अतुलनीय योगदान रहेको उल्लेख गर्दै राज्यले अझै उहाँको उचित सम्मान गर्न बाँकी नै रहेको विचार व्यक्त गरे ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभागका प्रमुख प्रा. दिनेशराज पन्तले बाबुराम आचार्य नेपालका प्रामाणिक इतिहासकार भएको बताउनुभयो । पन्तले तथ्यगत कुरालाई साहसका साथ लेख्ने एकमात्रै इतिहासकार भएकोले नै आचार्य इतिहासशिरोमणि कहलिएको उल्लेख गरे ।
प्रा.डा. त्रिरत्न मानन्धरले गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै बाबुराम आचार्यको योगदानका बारेमा चर्चा गरे । उनले नेपाली साहित्य समालोचनाका साथै सत्यतथ्यमा आधारित इतिहास लेखेर बाबुराम आचार्यले अतुलनीय योगदान दिएको बताए । उनले आचार्यको निधनपछि प्रकाशित उनका पुस्तकमा भने तथ्यको तोडमोड भएकोमा गुनासो व्यक्त गर्दै सम्पादनका नाममा त्यस्तो गर्न नहुने धारणा राखेका थिए ।।
गोष्ठीमा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. तुलसीराम वैद्य, महासचिव बाबुराम आचार्य र प्रा.डा. मीना ओझाले पनि विश्वको सर्वोच्च हिमशिखरको नाम सगरमाथा राख्ने इतिहासशिरोमणि आचार्य विश्वले मानेको व्यक्तित्व भएको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्