Logo
Logo

पार्टीको सम्पूर्ण अधिकार ओलीलाई


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका सम्बन्धमा आवश्यक निर्णय लिन अधिकार प्रत्यायोजन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गरेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

यसैगरी बैठकले पार्टी केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको कोभिड– १९ को सङ्क्रमणका कारण भएको निधनप्रति दुःख व्यक्त गरेको छ । प्रवक्ता ज्ञवालीले उहाँको निधनबाट पार्टीले एक असल नेता र दोलखालीले अब्बल जनप्रतिनिधि गुमाएको बताए । बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै चौलागाईंको सम्मानमा पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाइने निर्णय गरेको छ ।

यसैगरी बैठकमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस महामारीको पछिल्लो जटिलावस्था र यसको सामना गर्न सरकारले चालिरहेका कदमका सम्बन्धमा जानकारी दिएका थिए ।

बैठकले अक्सिजनको पर्याप्तता, प्रभावकारिता र नियमित आपूर्ति, खोपलगायत जीवनरक्षक औषधिको प्रबन्ध, अस्पतालको पूर्वाधार विस्तारलगायत कामका लागि राज्यको सम्पूर्ण शक्ति परिचालन गर्न र मित्र राष्ट्रबाट आवश्यक सहायता जुटाउनका लागि थप कूटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको उनले जानकारी दिए ।

बैठकले नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई गरिएको निलम्बनको कारवाही फुकुवा गर्ने निर्णय गरेको छ । उनले पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमको समीक्षा गर्दै एकताको रक्षाका लागि विगतका सबै तीता कुरा बिर्सिएर अगाडि बढ्ने जनाउँदै सो प्रयोजनका लागि पार्टी नेताहरुको कारवाही फुकुवा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्