Logo
Logo

माधव पक्ष सरकारमा सहभागी होला ?


दृष्टि संवाददाता


काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार राति तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका छन् । उनले आज सपथ ग्रहण गर्दैछन् । सपथ ग्रहणसँगै प्रधानमन्त्री ओलीले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जनाएका छन् ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी राजनीतिक दलहरुले सरकार गठन गर्न नसकेपछि पुनः ओली नै धारा ७६ को ३ अनुसार ठुलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिमण्डलमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि समेट्ने तयारी गरेका छन् । तर, यस विषयमा माधव पक्षले आधिकारिक प्रतिक्रिया जनाएको छैन ।

नेता नेम्बाङ सकभर सबै पक्षलाई समेट्ने प्रधानमन्त्रीको योजना रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले जसपा र माधव समुहका नेताहरुलाई सरकारमा सहभागी बन्न आग्रह गरेको उनले बताए । तर, एमालेको माधव समुहले भने प्रधानमन्त्री ओलीलाई तत्काल सरकारमा सहभागी नबन्ने प्रष्ट पारेको माधव नेपाल निकट एक नेताले बताएका छन् ।

उनका अनुसार पार्टीभित्रका समस्या अझै समाधान भएको छैन । त्यसैले सरकारमा जाने कुरा अहिले आएको छैन । पार्टीभित्रका अन्तरविरोधहरु मिलाउन अध्यक्ष ओली २ जेठ २०७५ मा फर्कनुपर्नेमा माधव पक्षको अडान कायम छ । आफ्नो अडान पूरा नभएसम्म आफूहरु सरकारमा नजाने माधव पक्षका एक सांसदले बताए । उनले भने, ‘हाम्रो अडान पूरा नभएसम्म सरकारमा जाने कुरै भएन ।’

प्रतिक्रिया दिनुहोस्