Logo
Logo

गाजासँगको सीमामा इराजरायलद्वारा थप फौज परिचालन


दृष्टि संवाददाता


काठमाडौं । इजरायली सेनाले गाजा पट्टीमा प्यालेस्टीनी विद्रोहीविरुद्ध आक्रमणलाई तीव्र पारेको छ । सेनाको एउटा वक्तव्यमा हवाई र स्थल फौजहरूले उक्त क्षेत्रमा रहेका निशानाहरूमा नयाँ कारबाही गरिरहेको जनाएको छ ।

बीबीसीका अनुसार गाजाको उत्तर र पूर्वमा फौजी डुङ्गा, लडाकू विमान र हेलिकप्टरको प्रयोग गरी व्यापक गोलाबारी गरिएको छ । भिडिओ फुटेजमा विस्फोटनले गाजाको आकासमा बिजुली चम्किएको जस्तो देखिन्छ । त्यहाँ ज्यान गुमाउने मानिसहरूको संख्या १ सय नाघेको छ ।
प्यालेस्टाइनले गरेको रकेट हमलामा इजरेलमा सात जनाले ज्यान गुमाएका छन् । लडाइँ रोक्न गरिएका कूटनीतिक अनुरोधले हालसम्म कुनै प्रभाव पारेको छैन ।

अमेरिकाले कूटनीतिक प्रयासलाई केही समय दिन आफूले चाहेको भन्दै राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक अर्को हप्तासम्म सारेको छ ।
बिबिसीले उल्लेख गरेअनुसार इजरायलले गाजासँगको आफ्नो सीमामा थप ट्यांक र फौजहरू परिचालन गरेको छ । केही दिनयताको हिंसापछि उसले स्थल कारबाहीको विचार गरिरहेको जनाइएको छ । स्थल सेनाको दुईवटा युनिट र बख्तरबन्द अर्को युनिटलाई गाजाको सीमा नजिकै बिहीबार खटाइएको छ ।

आवश्यक परेको बेलामा खटाउन सकिने भनेर तयार राखिएका ७ हजार सैनिकलाई काममा बोलाइएको छ । तर, यो समाचार तयार पार्दासम्म स्थल सेना परिचालन गर्ने निर्णय गरिएको छैन । जसबारे सेनाका प्रमुख र सरकारका विभिन्न तहहरूले निर्णय गर्नुपर्ने हुन्छ ।

गाजा र इजरेलमा चार दिन यता भइरहेका हिंसा सन् २०१४ यताकै खराब भनिएको छ । यहुदी र मुसलमान दुवैले पवित्र धार्मिक स्थलको रूपमा सम्मान व्यक्त गर्ने पूर्वी जेरूसेलममा हप्तौँका तनावपछि झडपहरू भएका थिए । त्यसपछि प्यालेस्टाइन र इजरेलले एक अर्का विरूद्ध हवाई हमलाहरू थालेका हुन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यहुदी र अरब इजरेलीबीच सडकमा भइरहेका हिंसालाई दबाउन उनकै शब्दमा अत्यधिक बल प्रयोग गर्न तयार रहन प्रहरीलाई भनेका छन् । यहुदी र अरबहरूको मिश्रित बसोबास रहेका इजरेलका विभिन्न नगर र सहरहरूमा थप हिंसा भएका विवरण आएका छन् ।

पछिल्लो हिंसाले गृहयुद्ध निम्त्याउने चेतावनी इजरायलका राष्ट्रपतिले दिएका छन् । रक्षामन्त्री बेनी गान्ट्सले देशभित्रको आन्तरिक तनावलाई दबाउन ठूलो मात्रामा थप सुरक्षाकर्मी खटाएका छन् । जातीय हिंसापछि चार सयभन्दा बढीलाई गिरफ्तार गरिएको बताइएको छ ।

हमासका एक जना उच्च अधिकारीले अन्तर्राष्ट्रिय समुदायले इजरेललाई जेरुसेलमको अल अक्सा मस्जिदमा आफ्नो फौजी गतिविधि अन्त्य गर्न दबाब दिए जवाफी युद्ध विराम हुनसक्ने बताएको बिबिसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्