प्रधानमन्त्रीको नयाँ मन्त्रिपरिषदमा अधिकांश पुरानै रहने « Drishti News – Nepalese News Portal
Logo

प्रधानमन्त्रीको नयाँ मन्त्रिपरिषदमा अधिकांश पुरानै रहने


दृष्टि संवाददाता


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उनलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गरेका हुन् ।

तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २ः३० बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आजै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने जनाइएको छ ।

राष्ट्रपतिबाट नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरेका थिए । उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत दलले बहुमत सदस्यको दाबी पेश गर्ने कोसिस गरे पनि असफल भएपछि संविधानको धारा ७६ को (३) बमोजिम ठूलो दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्तभएका हुन् ।

सपथ ग्रहणसँगै प्रधानमन्त्री ओलीले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रिमण्डलमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि समेट्ने तयारी गरेका छन् । तर, यस विषयमा माधव पक्षले कुनै प्रतिक्रिया जनाएको छैन ।

नेता नेम्बाङ सकभर सबै पक्षलाई समेट्ने प्रधानमन्त्रीको योजना रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले जसपा र माधव समुहका नेताहरुलाई सरकारमा सहभागी बन्न आग्रह गरेको उनले बताए । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गर्न लागेको भनिए पनि अधिकांश पुरानै मन्त्री रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्