Logo
Logo
सम्झना

प्रेमध्वजको सम्झनामा केही शब्दहरु


एमपी सुब्बा


यो नेपाली शिर उचाली संसारमा लम्किन्छ
जुनकिरीझैँ ज्योती बाली अन्धकारमा चम्किन्छ…
नेपालीको गौरवगाथा बोल्ने उल्लेखित गीतका स्रष्टा प्रेमध्वज प्रधान हामीसामु रहेनन् । तर, नेपाली मन र माटोले कहिल्यै बिर्सन नसक्ने उनका यस्ता सयौँ गीत हामीमाझ छन् । ती गीतहरु उनका लागि चीर स्मरणीय हुन् ।

राष्ट्रियता र प्रेमभाव । संगीत सिर्जना र सुमधुर आवाज । सुरुदेखि अन्त्यसम्म कर्णप्रिय गीत गाएर लाखौं नेपालीको ढुकढुकी बनेका गायक प्रेमध्वज प्रधान यही २३ बैशाखमा ८२ वर्षको उमेर सदाका लागि आँखा चिम्लिए । नेपाली गीतसंगीतको एउटा सिंगो इतिहास प्रेमध्वज प्रधानको अक्षरमा ब्याख्या गरेर सकिन्न । उनी हरेक नेपाली संगीतपे्रमी श्रोताको मन र मुटुमा बाँचेका छन् ।

प्रेमध्वजको शरीर ढलेर गएपनि उनका सिर्जनामा यादहरु छरपष्ट छन् । पहिलोपटक गाएका थिए, ‘याद कसैको आइरहेछ, यो अँधेरी रातमा’ । यो उनको गीतले भनेजस्तै श्रोताले उनलाई सधैँ सम्झिरहने छन् । संगीतको मीठास धुनसँग स्मरण गर्ने छन् देश र श्रोताले उनलाई । जसरी अहिले स्वर सम्राट नायराणगोपालका गीतहरु आम श्रोताको मानसपटलमा गुञ्जिरहेजस्तै प्रेमध्वज प्रधान पनि नेपालीको मन मस्तिष्कमा गुञ्जिरहने छन् ।

‘याद कसैको आइरहेछ’ प्रेमध्वज प्रधानको पहिलो रेकर्डेड गीत थियो । भैरवबहादुर थापाको शब्द संगीतमा उनले यो गीत रेडियो नेपालमा गीत रेकर्ड गराएका थिए । त्यसपछि नेपाली सुगमसंगीतमा प्रेमध्वज सधैँ प्रेममय बने । उनका सिर्जनामा राष्ट्र, राष्ट्रियता र मानवीय प्रेममा झिल्काहरु छन् ।

सन् १९५५ मा गाएको ‘यो नेपाली शीर उचाली संसारमा लम्किन्छ’ प्रेमध्वजको प्रख्यात सिर्जना हो । जुन गीत नेपाली सेनादेखि लिएर राष्ट्रिय गौरवका हरेक कार्यक्रमहरु गुञ्जिने गर्छ । प्रेमध्वज र बरिष्ठ गायिका तारादेवीको स्वर रहेको उक्त गीत रेडियो नेपालमा पहिलो पटक लाइभ रेकर्ड भएको राष्ट्रिय गीत थियो । भूपि शेरचनले लेखेको यस गीतलाई अमेरिकी दूताबासले रेडियो नेपाललाई सहयोग गरेको रेकर्डिङ सिस्टमबाट रेकर्ड गरिएको पहिलो गीत थियो ।

गायन यात्रा
गायक प्रेमध्वज प्रधान भन्ने गर्थे, ‘मेरो लक्की नम्बर तीन हो ।’ उनले आफ्ना संगीत गुरुहरु पनि तीन जना नै बनाएका थिए । गायक प्रधानले आफ्नी आमा प्राणदेवी प्रधान, उस्ताद गणेशलाल श्रेष्ठ र भारतीय संगीतकार जयदेवलाई संगीत गुरु मान्थे ।

प्रेमध्वजकी आमा प्राणदेवी दरबारले दिएको उस्तादहरूसँग संगीत सिकेकी थिइन् । वि.सं २००७ सालदेखि नै प्राणदेवीले रेडियो नेपालमा गीत गाउन थालेकी थिइन् । जुनबेला रेडियो नेपालको भर्खरै स्थापिना भएको थियो । प्रेमध्वजलाई आमाले संगीतको ‘कखरा’ सिकाएका थिए अर्थात उनको पहिलो संगीत गुरु आफ्नी आमा प्राणदेवी थिइन् ।

प्रेमध्वज गिटारमा विशेष लगाव राख्थे । वि.सं २०२० सालमा राष्ट्रिय नाचघरमा आधुनिक गीत प्रतिस्पर्धामा ‘गोरेटो त्यो गाउँको’ बोलको गीत स्टेजमा गिटार बजाउँदै गाएर अब्बल प्रतिस्पर्धी घोषित भए । त्यसबेला राजा महेन्द्रले सुनको जलपसहित मेडल लगाइदिँदाको खुशीलाई उनी पटक पटक सुनाउँथे । स्मरण गरिरहन्थे । र, तुलना गर्थे, ‘त्यो बेलाको समय र वर्तमानलाई ।’ हुन त अव नेपाली श्रोताले प्रेमध्वज जस्ता गायक पाउँदैनौँ नै । तर, उनी भन्थे, ‘लगाव चाहिन्छ । सफल भइन्छ ।’

वि.सं २००९ मा रेडियो नेपालमा भ्वाइस टेस्ट गर्न जाँदा हिन्दी ‘दिल ये नादान’ बोलको गीत गाएर ‘क’ श्रेणीमा पास भएका थिए उनी । त्यहीँबाट प्रेमध्वजको संगीतको सुमधुर यात्रा सुरु भएको थियो ।

प्रेमध्वज प्रधान सानैबाट गाउँथे । सानैबाट संगीतमा आवद्ध उनले आफ्नो जीवनकालमा सात सयभन्दा धेरै गीतमा रेकर्ड गराएका थिए । प्रेमध्वजको दर्जर्नौँ कालजयी गीतहरु छन् । ‘पर लैजाउ फूलहरु’, यो सबै वर्गका श्रोता तथा दर्शकको मनमा बसेको छ ।

यस्तै, उनको अर्को गीत ‘घुम्तीमा नआऊ है’ पनि कालजयी बन्यो । सन् १९७० मा रेकर्ड भएको यो गीत सर्वकालिक गीत बनेको छ । पुरानो र नयाँ दुवै पुस्तामा परिचित यो गीतको शब्द रत्न शमशेर थापाको थियो भने संगीत प्रधान आफैँले गरेका थिए । गायक प्रधानका ‘यो नेपाली शिर उचाली’, ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’जस्ता गीतहरु अहिले पनि सर्वाधिक सुनिन्छ ।

प्रेमध्वज प्रधानको सफलताभित्र संघर्ष र लगनशीलता मिश्रित थियो । केही वर्षअघि एउटा अन्तर्वार्तामा यो स्तम्भकारसँग भनेका थिए, ‘एक समय मलाई रेडियोले पत्याएन, तर हरेश खाइन । रेडियो नेपालले पत्याएन भनेर हरेश खाएको भए केही हुन्थ्यो होला र ?’

प्रेमध्वजको संघर्ष
सिन्धुपाल्चोक, चौतारामा वि.स. १९९४ सालमा जन्मिएका उनी पढाईका लागि काठमाडौं आए । काठमाडौंमा विश्व निकेतन विद्यालयमा भर्ना हुँदा उनी गणेशध्वज थिए । गुरु प्रेमबहादुर श्रेष्ठले दोस्रो पटक उनको न्वारन गरिदिएका थिए । उनले अन्र्तर्वाताहरुमा भन्ने गर्थे, ‘हेडमास्टरले मेरो प्रेम झिकेर तिमीलाई दिएँ भनेर मेरो नाम नै फेरिदिनुभयो ।’ गुरुले दिएको त्यही नामले उनी संस्थापित भए ।

प्रेमध्यवजको आमा तुलाधार र बुवा प्रधान । समाजले जडा गाडेको जातिय प्रथाले उनकी आमालाई प्रधानको घरकी बुहारी स्वीकारेनन् । वि.स. २००१ मा आमाबुवाको डिभोर्स भयो । एक्ला सन्तान उनी आमासँगै कोठा लिएर बस्न थाले । त्यसैबेला आफ्नी आमा जीवन र संगीतको पहिलो गुरु बनिन् ।

प्रेमध्वजको आर्थिक अवस्था कमजोर थियो । उनीसँग संगीत सिक्ने पैसासमेत थिएन । वि.स. २०१० सालमा वाद्य शिरोमणि गणेशलाल श्रेष्ठसँग १५ महिना शास्त्रीय संगीतको शिक्षा लिएका प्रेमध्वजले संगीत सिकुञ्जेलसम्म दुवै आँखा नदेख्ने आफ्ना गुरु गणेशलाललाई घरदेखि रेडियो नेपाल लाने ल्याउने काम गर्थे ।

आफू गायक भएका कारण प्रेमध्वज रेडियो नेपालमा गायकको रुपमा जागिर खान चाहन्थे । तर, मासिक ९० रुपियाँ पाउने ठाउँमा ४५ रुपैयाँ मात्रै लिन्छु भन्दा समेत रेडियोमा जागिर पाएनन् । यो तितो यर्थात उनी बेला बेला स्मरण गर्थे ।

केही वर्षअघि एउटा अन्तर्वार्तामा यो स्तम्भकारसँग भनेका थिए, ‘त्यो बेला रेडियोले मलाई पत्याएन । त्यहीबाट मैले जीवनमा हरेश खानु हुन्न भन्ने ज्ञान सिकेँ किनकि, त्यो रेडियो नेपालले पत्याएन भनेर हरेश खाएको भए अरु केही हुन्थ्यो होला ।’

गायनमा फड्को
सुमधर आवाजका धनी प्रेमध्वजले वि.सं २०२३ सालमा पहिलोपटक चलचित्र ‘माइतीघर’मा पाश्र्व स्वर दिने अवसर पाएका थिए । त्यो बम्बइमा भारतीय गायिका उषा मंगेशकरसँग गाएको ‘नमान लाज यस्तरी’ थियो । उक्त गीत नेपाली गायकले विदेशी गायिकासँग गाएको पहिलो थियो ।

‘नमान लाज यस्तरी’ गीत सुपरहिट बन्यो । त्यसपछि हरेक नेपाली चलचित्रमा प्रेमध्वजको स्वर खोजिन थाल्यो । त्यसपछि ‘माइतीघर’, ‘अन्याय’, ‘मायालु’, ‘बदलिँदो आकास’, ‘फेरि फेटौँला’, ‘जीवनरेखा’जस्ता दर्जनौँ चलचित्रहरुमा स्वर दिए । उनका हरेक गीत श्रोताले रुचाए । ती उनका स्वरले सजिएका गीतहरु पल पल गुञ्जिरहेका छन् ।

प्रेमध्वज प्रधान २०२१ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक संगीत प्रतियोगितामा प्रथम, २०४४ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४७ सालमा छिन्नलता पुरस्कार, २०५३ सालमा विख्यात त्रि–शक्तिपट्ट तेस्रा, २०५८ सालमा भूपालमानसिंह पुरस्कार, २०५९ सालमा गंगा लुनकरणदास चौधरी पुरस्कार, २०५९ सालमै इमेज च्यानल र हिट्स एफ.एम.बाट लाइफ टाइम एचिभमेन्ट अवार्डजस्ता सम्मान, पदक र पुरस्कारहरुले सम्मानित भएका थिए । तर, बहुदलीय व्यवस्था आएपछि उनलाई राष्ट्रले चिन्न सकेन ।

प्रेमध्वज प्रधान जस्ता स्रष्टा फेरि फेरि न देशले पाउँछ, न त श्रोताले नै । संगीत क्षेत्रका लागि त अतुलनीय क्षति नै हो । नेपाली संगीतको धरोहर अर्थात एउटा इतिहास ढल्दा खेरी वर्तमान सरकारले एक शब्दसमेत खर्च गरेन । यो कला र संंगीतप्रति राष्ट्रको अपमान को कि होइन ?
अन्त्यमा, संगीतप्रेमीहरुको ढुकढुकी प्रेमध्वज प्रधानप्रति हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया दिनुहोस्