दिल्लीको बसाइ मजैको सिकाइ « Drishti News – Nepalese News Portal
Logo

दिल्लीको बसाइ मजैको सिकाइ


तीर्थ सिग्देल


यात्राले पाठ सिकाउँछ
मैले पहिले नै भनिसकेको छु कि बिना कारण वा निरुद्देश्य भ्रमणको कुनै अर्थ हुन्न । अर्थात, त्यो भ्रमणले कुनै सार्थकता प्रदान गरोस् । भनाइको मतलब यात्रालाई स्मरणयोग्य बनाउन सकेमा त झन् फूलमा सुन्दरता थपिन्थ्यो ।

अरुको बारेमा केही भन्न सकिन्न । तर, मलाई यात्रामा अनुभव र अनुभूति बटुल्न पाए पुग्छ । जस्तो सबै यात्रा सुखद् नै हुन्छ भन्ने हुन्न । जस्तो सुकै परिस्थिति आएपनि यात्राबाट भाग्न पनि त मिल्दैन । दुःखद् या सुखद् जे भएपनि यात्राले एउटा पाठ सिकाउँछ । जुन पाठबाट सिकेर अगाडि बढ्न सकियो भने जीवन सार्थक हुनेछ ।

भारतीय रेलको यात्रा गर्ने अल्छिले म त्यस पटक श्रीलंकाको कार्यक्रम सकेर फर्कदा कोलम्बोबाट भारतको चेन्नइ हुँदै नयाँ दिल्ली उत्रिएको थिएँ । दिल्लीबाट सिँधै काठमाडौ जानु पर्नेमा मलाई रितेशको मनले तान्यो । नेपालबाट श्रीलंका जानुपूर्व नै उसले मलाई धेरै अनुरोध गरेको थियो कि, सर… उताबाट फर्कदा दिल्ली भएर आउनु । यहाँ केही दिन घुमेर जानु नि… ।
उसको यस्तो अनुरोध टार्दा ठुलो भइएला भन्ने लागेर म एकदिन नयाँ दिल्ली बिमानस्थलमा उत्रिएँ ।

त्यहाँबाट हामी सिँधै ऊ बसेको ठाउँ दिल्लीको बदरपुर पुग्यौं । मलाई भोलिपल्ट बिहान काठमाडौ फर्किनु थियो । मैले रितेशलाई भने, हेर यार…मलाई बिहानै एयरपोर्ट पुग्नु छ । राति अबेरसम्म नबसौं ।
उसले चिन्ता नलिन आग्रह गर्दै भन्यो, सर..म छु नि… किन पिर गर्नु हुन्छ ।
त्यसपछि म ढुक्क भएँ । मलाई लाग्यो उसले समयमै पुर्याउला नि ।
दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल मध्य दिल्लीभन्दा धेरै टाढा छ । हरियाणा प्रान्तको सिमानामा । तैपनि मेरो चिन्तालाई दुर गर्दै उसले त्यसै नै भनिरह्यो, सर… खाली अनावश्यक चिन्ता लिनु हुँदो रहेछ ।
त्यसपछि पनि उसले समयमै पुर्याउँछु भनिरह्यो । मैले बोल्नु भन्दा समयलाई पर्खेर हेर्नु उचित ठानिन । किनभने ऊ मेरो कार्यालयमा दुई बर्षसम्म व्यवस्थापक भएर काम गरेको मान्छे हो । त्यै भएर ऊ माथि धेरै अविश्वास गरिहाल्ने कुरा पनि भएन । त्यो भन्दा पनि यतिबेला म उसको पाहुना थिएँ । उसले चाहेको कुरा टार्न सक्ने अवस्थामा पनि म थिइन । त्यसपछि म ढुक्कले निदाएँ ।

म ठुलै सहरिया भएँ
नयाँ दिल्ली विश्वका ठूला सहर मध्ये पर्दछ । धेरै भिडभाड र ब्यस्त सहर हो त्यो । ठुला सहरहरुको विशेषता नै हो । राती अबेरसम्म खुल्ने र विहान ढिलो उठ्ने । प्रायः ठूला सहरका मान्छेहरुको पनि दैनिकी यही हो । जस्तो परिवेश उस्तै समाज, जस्तो सोच उस्तै परिणाम भनेजस्तो ऊ पनि त्यस्तै सहरिया भएछ । उसको आश्वस्तताले म ढुक्कले निदाएँ । एकदिनका लागि भएपनि म ठूलै सहरिया भएँ ।

जुन कुरामा शंका थियो । त्यही भयो । त्यस दिन मेरो प्लेन छुट्यो । उसको मसँग रमाइलो गर्ने चाहना र मलाई पनि एक रात दिल्लीबासी हुने लालसाले प्लेनले मलाई पर्खिरहने जाँगर देखाएन । उसको रहरले, उसको प्रहरले मलाई अभर पार्यो । त्यो भन्दा पनि दिल्लीको ट्राफिकले गर्दा प्लेन छुट्यो ।

संसारकै सबैभन्दा बढी ट्राफिक समस्याको सामना गर्ने मुलुक बंगलादेश हो । त्यसको राजधानी ढाका हो । आज पनि हेर्न सकिन्छ, त्यहाँका सार्वजनिक सवारीका साधन कुनै पनि सद्दे कुदेका देखिन्नन् । सडकभरी यत्रतत्र केटाकेटीले भिडियो गेम खेलेजस्तो दौडने गाडीले ढाकालाई अत्यन्त कुरुप मात्र बनाएको छैन, पूरै असुरक्षित बनाएको छ । ढाकाका सवारीका साधनले कुनै रेसमा भाग लिएका छन् ।

अचम्म… हर्न निशेष छैन । एकपटक थिचेको हर्न गन्तब्यमा नपुगुन्जेलसम्म बजिरहन्छ । हर्न बजाएर मात्र बाटो क्लियर हुन्छ भन्ने सोच त्यहाँका सवारी चालकमा रहेछ । अलिअलि गाडी ठोक्किनु त उनीहरुका लागि सामान्य रहेछ । सडकमा दौडिएका गाडी मध्ये ९० प्रतिशतभन्दा बढी गाडीको बडी कोरिएको वा ठोक्किएको हुन्छ । त्यो भन्दा पनि उनीहरुमा लेन अनुशासन पटक्कै छैन । जुनसुकै लेन पक्रेर भएपनि पुग्न पाए, भयो ।

भिडभाड त ढाकाको भन्दा पनि कम छैन, दिल्लीको । तर, ढाकामा गाडी रोकिदैन, दिल्लीमा गाडीले पाइला चाल्दैन । दिल्लीको सार्वजनिक बस सेवा अत्यन्तै अल्छि । बरु हिँडेर गएको भए अघि नै पुगिने रहेछ । जतिजति बस रोकिन्छ, त्यति नै मेरो मुटुको घडकन रोकिन खोज्छ । लाग्छ, राति अबेरसम्म काममा तल्लिन दिल्लीका बासिन्दाहरु भर्खरै निन्द्राबाट ब्यूझेका छन् । र, मेरैजस्तो हतारमा छन् । मानौ, उनीहरुको पनि प्लेन छुट्न लागेको छ ।

बस अगाडि बढ्नु भन्दा पनि मान्छे कोच्न मै ब्यस्त छ । सडकभरि पोखिएका मान्छेहरु बसमै यात्रा गर्छन् । कमै मान्छेसँग निजी साधन छ । उनीहरुको भरोसा बनेको दिल्लीको सार्वजनिक यातायात सेवा भने कछुवाको चालमा घस्रिरहेको छ । जनता हतारमा छन्, सरकारलाई कुनै हतार छैन । जनतालाई गन्तब्यमा पुग्नु छ, सरकार मन्त्रालयमा हुन्छ । जनतालाई पनि काममा जान मात्र हतार छ । उनीहरुलाई बस समात्न मात्र हतार छ, त्यो बस समयमा गन्तब्यमा गुगोस् या नपुगोस् कुनै पर्वाह छैन ।

त्यस दिन पनि मन खिन्न पार्दे म उसकै पाहुना बनें । उसले पनि बेलाबेला खिन्नता प्रकट गरिरह्यो । तर, हामीसँग अर्को कुनै विकल्प पनि थिएन । ‘सावधानी हटी, दुर्घटना घटी’ भन्ने भनाइलाई आत्मसात गर्ने हो भने यस्तो दिनको सामना नै गर्नु पर्ने थिएन । मुल कुरा समय र परिस्थितिलाई बुझ्न सकिएन भने जतिसुकै प्रगति गरे पनि मान्छे सफल देखिदैन । तत्काल उन्नतिको शिखर चढेपनि अन्ततोगत्व मान्छे शिखरबाट झर्न समय लाग्दैन । यसपटक यस्तै भयो । धेरै पिर नगरौं ।

तैपनि रितेशले चिन्ता नलिन गरिरहेको आग्रहलाई मैले स्विकार गर्नु नै पर्यो । उसले मलाई ढाडस दिइरह्यो । म उसँग रिसाउन नसकेर मात्र नरिसाएको हो । नत्र उसले मजैले गाली खाने थियो ।

काउन्सिल ट्राभल्सका संचालक नवीन खरेललाई भनेर अर्को दिनको टिकट बनाउन लगाएँ । फेरि पनि प्लेन छुट्ला भन्ने चिन्ताले सताइरहेको बेला उसको सत्कारले छाडेन । उसको मसँग बर्षों पछिको भेटघाटलाई यादगार बनाउने लालसाले मलाई सताइरह्यो । म जति उसको सत्कारको भाग लिन्छु, त्यति नै एयरपोर्ट सम्झन्छु ।

उसको मन भित्र के थियो ? क्लियर भन्न त सक्दिन । तर, उसले पहिले नै भनेको थियो । दिल्लीबाट काठमाडौको टिकट नबनाउनु सर… । दुई चार दिन यतै बस्नु पर्छ अनि मात्र फर्किनू होला । उसले यसो भनेर भनेको सम्झिएँ । कतै रितेशले चाहेर नै ढिलाई गरिरहेको त छैन ?

अविश्वासको यो हद्
यतिधेरै अविश्वास गर्नु पनि हुदै हुन्छ ।
दिल्लीको दोस्रो दिनको बसाईमा भने म धेरै सजग थिएँ । ‘सजगताले सहजता निम्त्याउँछ’ भन्ने सुनेकै कुरा हो । म त्यही प्रयासमा थिएँः जुन गल्ति भयो, यो नदोहोरियोस् । किनभने विदेश यात्रामा खेलाँची गर्नु हुन्न भन्ने पुष्टि भयो । अन्तर्राष्ट्रिय स्तरमा यात्रा गर्दा लापरवाही गर्नु हुन्न भन्ने साबित भयो । मेरो जीवनका लागि यो ठूलो पाठ भयो ।

हो, त्यो लापरबाही मैले गरें । मैले भन्दा पनि रितेशले गर्यो । बिचरा… उसलाई के दोष दिनू ? दोष त त्यो बसको हो, जसले हामीलाई समयमा पुर्याएन । फेरि त्यो बस चालकलाई पनि के दोष दिनू ? बिनाकारण अरुलाई दोष के दिनू ? गल्ति मेरै हो । दोष मेरै हो ।

त्यो दिन एक्लै एयरपोर्ट जाने भएँ । मैले उसलाई लगिन । रितेशकी श्रीमतिको खानाको आग्रह पनि नस्विकारी एयरपोर्ट बेलैमा निस्किएँ ।
आफू जति जान्ने भएपनि जिन्दगीमा धेरै कुरा सिक्न बाँकी नै हुँदो रहेछ । कहिलेकाँही त जिन्दगीले नै जिन्दगीको परीक्षा लिदो रहेछ । समयले कसैलाई पर्खिदैन । पर्खिने त समयलाई हो । जुन समयको गतिले कतिलाई अगाडि पुर्याएको छ त कतिलाई रसालतमा । त्यो दिन मेरा लागि बहस गरिरहने समय थिएन । मलाई त्यस दिनले पनि साथ दिएन । पत्याउनुहुन्छ ? त्यस दिन पनि मेरो प्लेन छुट्यो ।

शीर्षक नै छ । दिल्लीको बसाइ मजैको सिकाइ । हो, मजैले धेरै कुरा सिकियो । यो प्लेन कसरी छुट्यो भन्ने कथा अहिले नै नभनौं । यसका पनि केही कारण छन् । जसको बयान अहिले नै गर्नु उचित लागेन । तर, जुन कारणले मेरो दोस्रो पटक प्लेन छुट्यो, यसमा भने अरुलाई दोष दिन पटक्कै मिल्दैन । जब त्यस दिन पनि मैले रितेशको पाहुना बनेर रात गुजार्नु पर्ने भयो । तब लाग्यो, उसले भनेकै थियो केही दिन त दिल्ली बस्नुपर्छ । हो, उसले भनेको पुग्यो, मैले नचाहेरै भएपछि तीन रात दिल्लीमा गुजारें ।

तिमी अरुको गल्तिबाट पाठ सिकेर अगाडि बढ । किनभने तिमीसँग आफैले गल्ति गरेर पाठ सिक्ने समय छैन । यो भनाइ बिपरीत मैले आफ्नै गल्तिबाट पनि पाठ सिक्न नसकेको पुष्टि भयो । अक्सर मान्छेहरु अरुको गल्ति औल्याउँछन्, अरुको जिउको जुम्रा देख्छन् । तर, आफ्नै जिउको भैसी पनि देख्दैनन् । यही भनाइ साबित भयो, मेरा लागि । अघिल्लो प्लेन छुटाइबाट पनि मैले सिकिन । बरु अरुलाई दोष दिनेतिर मेरो ध्यान गयो ।

भनाइ नै छ, अरुको कुरा गरेर समय बर्बाद नपार बरु त्यो समय आफ्ना लागि खर्च गर । प्रगति देख्नेछौं ।
त्यो भनाइलाई आत्मसात गर्न सकिएन भने मान्छेले आफुलाई जति नै सजग बनाएर मात्र नपुग्ने रहेछ । समय र भविष्यप्रति सजग भएर मात्र नहुने रहेछ । कहिलेकाहीँ सामाजिक परिवेश र वरपरको वातावरणले पनि प्रभाव पार्दो रहेछ । वातावरण स्वच्छ, सफा, हराभरा र सुन्दर भएर मात्र नहँुदो रहेछ । आफ्नो मन पनि स्थीर हुनु पर्ने रहेछ । मन र तनको सम्बन्ध पनि अजबकै हुन्छ । मनले शान्ति खोज्छ तर तनले चंचलता । यही मानसिक द्धन्द्धको चपेटामा रुमल्लिन्छ मान्छे जिन्दगीभर ।
कतै म यस्तै मानसिक द्धन्द्धको चपेटामा त परेको थिइनँ, त्यो बेला ?

मैले सुरुतिर नै भनेको छु कि यात्राहरु सबै सुखद् हुँदैनन् र सबै यात्राहरु दुःखद् पनि । कोलम्बोबाट फर्किदा श्रीलंकन साथी अमिला सामन्थीले हात हल्लाउँदै सुखद् यात्राको कामना गरेको दृश्य अहिले पनि सम्झन्छु । बेला–बेला घरपरिवारबाट र अरु मान्छेहरुले राम्ररी जानुहोला वा सुखद् यात्राको कामना भनेको सुन्दा त्यही दिल्लीको एयरपोर्ट झल्झली देख्छु ।
म अर्को दिन काठमाडौं फर्किएँ ।

मनभरि दिल्ली बसाइले सिकाएको पाठ, तनभरि दुःखद् घटना र केही सस्मरण लिएर । आफ्नै गल्तिबाट पाठ सिकेर अगाडि बढ्ने प्रण गरेर ।

सिग्देलको प्रकाशित यात्रा संस्मरण (एक दिन समय कथा) बाट

प्रतिक्रिया दिनुहोस्