Logo
Logo

सतहमा जसपा विवाद : आधिकारिक यादव कि ठाकुर ?


दृष्टि संवाददाता

1.6k
Shares

काठमाडौं । पछिल्लो राजनीति घटनाक्रमसँगै जनता समाजवादी पार्टी नेपाल (जसपा) दुई गुटमा स्पष्ट देखिएको छ । जब सत्ता समीकरणको विषय उठ्यो, तब अध्यक्ष महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षबीच अन्तरविरोध छरपष्ट भएको हो । यतिखेर जसपाका नेताहरु आफूलाई आधिकारिक देखाउन तल्लीन छन् ।

ठाकर पक्षले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेपछि चुलिएको विवादले जसपालाई फुटको संघारसम्म पुर्याएको छ ।

नेता महत्तोलाई दलको नेता चयन गर्ने ठाकुर पक्षको निर्णयप्रति उपेन्द्र पक्षले आपत्ति जनाइसकेको छ । संसदीय दल गठन नभएको र विधान समेत नबनेको अवस्थामा संसदीय दलको नेता चयन हुन नसक्ने भन्दै यादव समूहले ठाकुर समूहको गतिविधिलाई अवैधानिक भनेकाे छ ।

पार्टीभित्र आन्तरिक विवाद चुलिएपछि यादव समूहले ठाकुर पक्षसँग अन्तिम छलफल गर्ने जनाएको छ । यादव पक्षको शनिबार बसेको कार्यकारिणी समिति बैठकले पार्टीमा देखिएको विवाद समाधानका लागि अर्का अध्यक्ष महन्थ ठाकुरसँग अन्तिम पटक छलफल गर्ने निर्णय गरेको हो ।

जसपामा यादव र ठाकुर दुई अध्यक्ष रहेका छन् भने संघीय परिषद् अध्यक्षको रुपमा डा. बाबुराम भट्टराई रहेका छन् । यतिखेर यादव-भट्टराई पक्ष र ठाकुर-महत्तो पक्षबीच मतभेद बढ्दै गएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने समय मत दिने या नदिने भन्नेमा दुई मसूहतको मतभेद बाहिरिएको थियो । ठाकुर–महतो ओलीको पक्षमा लागे भने यादव–भट्टराई विपक्षमा रहे ।

त्यस घटनाक्रमसँगै यादव पक्षको शनिबार बसेको बैठकले अध्यक्ष ठाकुर र नेता महतोले पार्टीको अनुशासन उल्लघंन गरेको निष्कर्ष निकाले छ । साथै आइतबार केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि गरेको छ ।

तर, यादव समूहले बोलाएको बैठकलाई ठाकुर पक्षले अवैध भनेको छ । अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै पार्टीले कुनै आधिकारिक बैठक नबोलाएको बताउँदै आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा भनएको छ, ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजै दिनको १ बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनि विभिन्न सञ्चारमाध्यमबाट एवम् सामाजिक सञ्जालबाट सूचना एवम् समाचारहरु सम्प्रेषित भैरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्