Logo
Logo

मकवानपुर र नुवाकोट गरी थप ७ जना संक्रमितको मृत्यु


दृष्टि संवाददाता

441
Shares

मकवानपुर। हेटौँडा अस्पतालमा उपचारका क्रममा थप चारजनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालमा उपचार गराइरहेका तीन महिला र एक पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा सागर काफ्लेले जानकारी दिए ।

उनका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा शनिबार दुई र आइतबार बिहान दुई गरी चारजनाको कोभिड उपचार कक्षमा मृत्यु भएको हो । मृत्यु हुनेमा सबै हेटौँडा उपमहानगरपालिका निवासी रहेका छन् ।

मृत्यु हुनेमा वडा नं १४ की ७४ र ४८ वर्षीया महिला, वडा नं ८ की ६१ वर्षीया महिला र वडा नं २ चौकीटोलका ६४ वर्षीय पुरुष रहेको डा काफ्लेले बताए । मृतक सबैमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि अस्पतालको कोभिड उपचार कक्षमा भर्ना भएका थिए ।

यस्तै, नुवाकोटमा आइतबार कोरोना सङ्क्रमित तीन जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएर त्रिशूली अस्पतालमा उपचार गराउँदै आएका दुई र होम आइसोलेशनमा रहेका एकजनाको मृत्यु भएको हो ।

अस्पतालको सघन उपचार कक्षमा उपचाररत विदुर नपा–४ की ४३ वर्षीया महिला र अस्पतालको आइसोलेशन वार्डमा उपचाररत किस्पाङ गापा–५ का ३३ वर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार कोरोना सङ्क्रमित भएर उपचाररत दुवै जनाको आज बिहान मृत्यु भएको हो ।

यस्तै शिवपुरी गापा–४ सिक्रेमा कोरोना सङ्क्रमित ६१ वर्षीया एक महिलाको आज बिहान मृत्यु भएको छ । आफ्नै घरको होम आइसोलेशनमा बस्दै आएकी ६१ वर्षीया महिलाको श्वासप्रश्वासमा समस्या देखिएसँगै आज बिहान मृत्यु भएको सोही वडाका वडाध्यक्ष झमकराज गुरुङले बताए ।
नुवाकोटभित्र कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या योसहित आठ पुगेको छ । कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या हाल ७३७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्