Logo
Logo

संगीतको अँगालोमा बाँधिदै अमृता


एमपी सुब्बा


  • एमपी सुब्बा

काठमाडौं, २ चैत । भनिन्छ, ‘सर्पमा विष र मान्छेमा इख हुनुपर्छ’ यही भनाइलाई चरितार्थ गर्दै गायिका बनेकी हुन् अमृता लक्सम । आफ्नो नयाँ गीत ल्याउने तयारीमा रहेकी अमृताले भनिन्, ‘म इखकै कारण गायनमा लागेकी हुँ ।’
कलाकार तथा अभिनेत्रीसमेत रहेकी अमृताले चाँडै ‘तिम्रो अँगालोमा’ बोलको गीत श्रोतामाझ ल्याउँदैछिन् । यसै गीतको सन्दर्भमा कुरा गर्दै उनले आफ्नो विगतको स्मरण गरेकी हुन् । सानैदेखि नाच्न र गाउन भनेपछि हुरुक्कै हुने गरेको सुनाउँदै अमृताले भनिन्, ‘समय र परिस्थितिले गर्दा बल्ल गायनमा अगाडि आउँदैछु ।’

रहर र इच्छा भएर पनि समयमै संगीत सिक्न नसक्दा आफ्नै साथीसंगीले उडाएको स्रमण गर्दै उनले भनिन्, ‘एउटा कार्यक्रममा अञ्जु पन्तको ‘फूलजस्तो पवित्र’ बोलको गीत गाउन नसक्दा मलाई आफ्नै साथीहरुको हेपाइ खाएकी थिएँ । उक्त गीतको रिहल्सल गर्ने समय नपाउँदा मैले स्टेजमा गाउन सकिनँ । तर, साथीहरुले त्यो मेरो मर्म बुझेनन् । उल्टै मलाई खिसौटी गरे । त्यसपछि गायिका बन्ने मलाई इख पलाएको हो ।’


पुर्खौली पाँचथरकी भएपनि झापामा हुर्केबढेकी अमृताले दुई वर्ष संगीतको अध्ययन समेत गरेकी छन् । घरायसी समस्या र परिस्थितिले गर्दा संगीतको पूरा कोर्ष गर्न नसकेको बताउँदै उनले भनिन्, ‘घरको आर्थिक अवस्था र विभिन्न समस्याले गर्दा पनि रहरहरु समयमा पूरा गर्न सकिनँ ।’ अमृता करिब पाँच वर्षदेखि रोजगारीको सिलसिलामा दुवई बस्दै आएकी छन् । हाल गीत रेकर्डिङका लागि विदामा नेपाल आएकी उनले भनिन्, ‘ढिलै भएपनि मनका इच्छाहरु पूरा गर्दैछु ।’
त्यसो त उनी दुवईमा बसेर पनि आफ्नो गायनप्रतिको रहरलाई पूरा गर्दै आएकी छन् । अमृताले गायिका सिने गुरुङलगायतका गायक÷गायिकाको चर्चित गीतको ‘कभर सङ’ गरेकी छन् । उनले दुवईमै हुँदा सिने गुरुङको ‘मेरो प्यारो मान्छे तिमी’ कभर सङ गरेकी छन् । जुन कभर गीतलाई दर्शक÷श्रोताले निकै रुचाए । त्यसपछि झनै हौसिएकी अमृताले भनिन्, ‘रहर र इच्छा भएपछि जहाँ पनि समय निकाल्नु सकिँदोरहेछ ।’
सानैदेखि सडक नाटकहरुमा समेत अभिनय गर्दै आएकी अमृताले नेपाल हुँदा लिम्बू भाषाको फिल्म ‘हेलुक्वा’मा अभिनय समेत गरेकी छन् । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेजस्तै अमृता दुवईमा बसेर पनि नेपाली गीतसंगीतप्रति सक्रिय समूह ‘युथ ब्याण्ड’मा आवद्ध भएर स्टेज पर्फमेन्स गर्दै आएकी छन् । उक्त सांगीतिक समूहमा गायक यमन गुरुङ र अमृता भोकलिस्ट छन् । पाँच जनाको सदस्य रहेको यो ब्याण्डले दुवईमा विभिन्न कार्यक्रमहरु गर्दै आएको अमृताले सुनाइन् । त्यसका अलावा अमृताले नेपालका चर्चित लोक ब्याण्ड ‘कन्दरा’, गायक यसकुमारलगायतसँग पनि स्टेज शेयर गर्न भ्याइसकेकी छन् ।
गायिका अमृताको अब आउने नयाँ गीत ‘तिम्रो अँगालोमा’ ‘कन्दरा’ समूहकै सदस्य अमित गुरुङको संगीत कम्पोजिसन रहेको छ भने शब्द यमन गुरुङले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्