Logo
Logo
मदन‍-आश्रित स्मृति दिवस

कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा छौं : प्रधानमन्त्री ओली


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको विचारकै कारण कम्युनिष्ट आन्दोलन निरन्तर उचाइमा पुगेको बताएका छन् ।

सोमबार मदन-आश्रित स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले आफूहरु कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा दृढ संकल्पित रहेको समेत बताएका छन् ।

जनताको बहुदलीय जनवादको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लाग्ने अठोट रहेको पनि प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन् । नेपाल राष्ट्र तथा नेपाली जनताको लागि भण्डारीले पुर्‍याएको योगदानहरु दूरगामी महत्वको र अतुलनीय रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

ओलीले ३ वर्षअघि नेकपा माओवादी केन्द्रसँगको एकता पनि भण्डारीले देखेको एकीकृत कम्युनिष्ट आन्दोलनको सपना पूरा गर्ने एउटा प्रयास रहेको बताए । तर कतिपय नेताहरुको विभाजनकारी एवं अस्थिर र अवसरबादी सोचका कारण यो पूरा नभएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गर्दै राष्ट्रियताको सम्बर्द्धन र राष्ट्रिय हितको रक्षाको लागि अविचलित रुपमा क्रियाशिल रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मारिएका तत्कालीन पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा हरेक जेठ ३ गते यो दिवस मनाउने गरिन्छ ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्