सुकृतिलाई ५ लाख ८४ हजार राशीको पुरस्कार « Drishti News – Nepalese News Portal
Logo

सुकृतिलाई ५ लाख ८४ हजार राशीको पुरस्कार


दृष्टि संवाददाता


काठमाडौं । ’सत्र पुष्प पत्रहरु’ नामक कथा संग्रहकी लेखक सुकृति शर्मालाई ब्लूमक्विस्ट परिवारिक छात्रवृत्ति कोषले ब्लूमक्विस्ट–२०२१ बर्ष पुरस्कार प्रदान गरेको छ ।

परिवार, बिधालय र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका फेयरफ्याक्स काउन्टी स्कूल अन्तर्गतका उत्कृष्ट बिद्यार्थीहरु मध्येबाट छानिने एक बिद्यार्थीलाई बार्षिक रुपमा प्रदान गरिने उक्त पुरस्कारको राशी ५,००० डलर छ ।

ब्लूमक्विस्ट परिवारिक प्रतिष्ठानले धेरै लामो समयदेखि ‘कलेज एक्सेस फेयरफ्याक्सः ओपनिंग डोर टु द फ्युचर’ नामक संस्था मार्फत उक्त पुरस्कार प्रदान गर्दै आइरहेको कलेज एक्सेस फेयरफ्याक्सद्वारा प्रेषित पत्रमा उल्लेख गरिएको छ ।

उक्त पुरस्कार पाएपछि नेपाली अमेरिकी चेली सुकृति शर्माले भनिन, यो उनको कडा परिश्रम, बुबा आमाको प्रोत्साहन र आफ्नो सृजनशिलताको परिणाम हो ।’ सुकृतिले आफ्नो भाई साइमनसँग मिलेर लेखेको ‘सत्र पुष्प पत्रहरु’ नामक कथा संग्रह अमाजनमा उल्लेखनिय रुपमा बिक्रि भैरहेको छ।

उक्त पुस्तकलाई फेयरफ्याक्स काउन्टि पुस्तकालयले पाठक सदस्यहरुलाई अध्ययनका लागि आफ्ना सबै २३ वटा शाखामा उपलब्ध गराएको छ । उक्त पुस्तकबाट उठेको रकम नेपाल र लेबनान स्थित शरणार्थी शिविरहरूमा रहेका बालबालिकाहरूको स्वास्थ्य सेवाका लागि जाने गरेको कुरा सुकृतिले बताइन् ।

भविष्यमा विश्वभरीका बालबालिकाहरूको स्वास्थ्यका लागि आफ्नो जीवन लगानी गर्ने सोच बनाएकी सुकृतिले सानै उमेरदेखि स्थानीय एबं राष्ट्रियस्तरका समाचारपत्रहरूमा बालबालिकाहरूको पक्षमा आफ्ना लेखहरु प्रकाशन गर्दै आइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्