Logo
Logo

विधिवत नभएका झुण्डलाई सरकारले चिन्दैन : प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता


विराटनगर, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने बताएका छन् आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उनले भने, ‘एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो, पुनर्गठन होइन ।’
केही दिनयता मन्त्रिमण्डल पुनर्गठन हुने हल्ला चलिरहेका बेला प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । गत साता मात्रै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले यही आएर मन्त्रिपरिषद पुनर्गठन हुनसक्ने बताएका थिए । उनले प्रधानमन्त्रीले चाहे मन्त्रिपरिषद पुनर्गठन हुने बताएका थिए ।
यस्तै, प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीलाई ‘अनधिकृत झुण्ड’ भएको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले भने, ‘विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत संस्था हो । जुन संस्था विधिवत छैन, यस्तो झुण्डलाई सरकारले चिन्दैन ।’ उनले विप्लव समूह राजनीतिक दल नभएको र सो समूहले गरेका विध्वंसात्मक गतिविधिमात्रै प्रतिबन्ध लगाइएको स्पष्ट पारे ।
‘नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘बम पड्काएर उद्यमी, व्यवसायी र जनप्रतिनिधिलाई धम्क्याउने ? बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ?’ प्रधानमन्त्री ओलीले संविधान र कानुन विपरित, लुटपाट र आतंकका गतिविधि गर्न कसैलाई छुट नभएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्