सबै मुभीमा ‘कमर्शियल भ्यालु’ हुनुपर्छ: सविना गोपाली « Drishti News – Nepalese News Portal
Logo

सबै मुभीमा ‘कमर्शियल भ्यालु’ हुनुपर्छ: सविना गोपाली


दृष्टि संवाददाता


सानैदेखि कविता लेख्न थालेका सविना गोपाली सुरुवात र निरन्तरताको दृष्टिले कवि हुनुपर्ने हो । तर, समयले उनीलाई कलाकार बनायो । त्योभन्दा पनि ठूलो उत्सुकताले बहुआयामिक बनायो । सविनालाई कवितामार्फत सयौँ पाठकले पढिसकेका छन् । दर्जनभन्दा बढी नाटकमा हजारौँ दर्शकले देखिसकेका छन् । चलचित्रमार्फत लाखौँ दर्शकले हेरिसकेका छन् । सविनासँग जम्काभेट :

तपाइँ साहित्यकार कि कलाकार ?
म सानैदेखि कविता लेख्थेँ । कक्षा पाँचमा पढ्दा पहिलो पटक कविता लेखेको हुँ । कक्षा ९ मा पढ्दा जिल्लास्तरीय कविता प्रतियोगीता जितेको थिएँ । म मा धेरै कुरा सिक्नुपर्छ, जान्नुपर्छ भन्ने उत्सुकता छ । त्यसै क्रममा कला क्षेत्रमा पनि केही गर्न सक्छु जस्तो लागेर यो क्षेत्रमा प्रवेश गरेकी हुँ । अहिले म कलाकार भएको छु । तर, मेरो लेखन रोकिएको छैन । कवि, साहित्यकार नै बन्ने भन्दा पनि कथा, कवितामार्फत आफ्नो भाव व्यक्त गर्ने मेरो चाहना हो ।

कसरी कला क्षेत्रमा प्रवेश गर्नुभयो ?
म एनजीओमा काम गरिरहेको थिएँ । त्यसैबेला गोपीकृष्ण मूभिज्को टिभी फिल्मीमा ‘को बन्छ कलाकार ?’ कार्यक्रम प्रशारणमा आयो । त्यहाँ म फाइनलिष्ट भए । त्यसपछि म कला क्षेत्रमा प्रवेश गरे हुँ ।

सुरुवात गोपीकृष्णबाट गर्नु भयो तर कसरी थिएटर पुग्नु भयो ?
‘को बन्छ कलाकार ?’को फाइनलिष्ट भएपछि गोपीकृष्णले केही चलचित्रका लागि सम्झौता गरेको थियो । तर, काम सुरु भएको थिएन । सन् २०१४ मा नाटक ‘रातो स्वीटर’को अडिसन खुलेको साथीबाट थाए पाएँ । अडिसनमार्फत ‘रातो स्वीटर’को मुख्य भूमिकामा छानिए । त्यहाँको प्रस्तुतीले राम्रो प्रतिकृया पाए । त्यसपछि अशेष मल्ल सरले ‘स्कलरसिप’मा थिएटर कोर्ष गराउनुभयो । त्यसरी थिएटरमा मेरो उपस्थिति रह्याे।

अहिलेसम्म कति नाटक खेल्नुभयो ?
वरिष्ठ नाटककार अशेष मल्लद्धारा निर्देशित ‘बाँकी प्रश्न’, ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ लगायत नाटक खेलेको छु । अन्य निर्देशकहरुको रातो स्वीटर, चिसो भञ्ज्याङ, किनारको कथा, उडान, नेपाली आमा, जिम्दा सपना, निर्मल पानीको थोपाहरु मेलै प्ले गर्ने अवसर पाएका नाटकहरु हुन् । मैले भारतीय निर्देशक सुवोध पठनायकद्धारा निर्देशित नाटक ‘सिंढी’मा काम गर्ने अवसर पाएँ । मैले नेवारी नाटक ‘बाघभैरव’मा पनि काम गरेको छु । यो नाटक शर्मिला महर्जनले निर्देशन गर्नुभएको हो । अरु धेरै सडक नाटकहरु गरेको छु ।

नाटक लेखन र निर्देशनमा पनि उपस्थिति छ ?
म लेख्न रुचाउँने मान्छे हुँ । लेख्ने कोसिस गर्दा नाटक ‘काँचुली’ तयार भयो । यसलाई हामीले ‘त्रिआयाम–काँचुली’ भन्यौँ । ९० मिनेटको यो नाटकमा हामी तीन जना कलाकारको ३०–३० मिनेटको प्रस्तुती थियो । यो नाटक मैले नै लेखे, निर्देशन पनि मैले नै गरे । र, नाटकमा आफैँ कलाकार पनि थिए ।

अनि चलचित्र नि ?
मैले आधा दर्जन जति चलचित्रमा काम गरिसकेको छु । ‘के म तिम्रो होइन र’ प्रदर्शनमा आइसकेको छ । अरु चलचित्र प्रदर्शनमा आउन बाँकी छन् । त्यसमध्ये पनि आशा गरेको चलचित्र ‘रुदाने’ हो । ‘थाहा’ अभियन्ता रुपचन्द्र विष्टको जीवनीमा तयार भएको यो चलचित्रसँग निकै आशावादी छु । मैले इटालियन निर्देशक सेर्गीओ बस्सोद्धारा निर्देशित चलचित्र ‘सरिता’मा पनि काम गरेको छु । केही चलचित्रको तयारीमा थियौँ । तर, कोरोना महामारीले सबै रोक्यो ।

कस्तो चलचित्रमा काम गर्न मन लाग्छ ?
आर्ट र कमर्शियल भनेर चलचित्रलाई छुट्याउने गरिएको छ । मुख्य कुरा, धेरै भन्दा धेरै दर्शकले हेरोस भनेर चलचित्र बनाउनु पर्छ जस्तो लाग्छ । आर्ट नभएको मुभी हुँदैन । कमर्शियल भएन भने धेरै भन्दा धेरै दर्शकसम्म पुग्न सक्दैछ । त्यसैले यी दुबै कुरालाई ध्यान दिएर चलचित्र बन्नु पर्छ । धेरै काम आर्ट मुभीमै गरेको छु । तर, मुभीमा ‘कमर्शियल भ्यालु’ हुनु आवश्यक छ जस्तो लाग्छ । मुभी सबैका लागि बन्नुपर्छ । म एउटा कालाकारको रुपमा यस्तो फिल्ममा मात्र काम गर्छु भन्ने हुँदैन । राम्रो कथा र मैले भुमिका निभाउने पात्रलाई न्याय गर्न सक्छु जस्तो लग्यो भने सबै प्रकृतिको फिल्ममा काम गर्न सक्छु ।

बहुचर्चित टिभी सिरिज ‘सिंहदरबार’मा पनि काम गर्नु भयो है ?
‘सिंहदरबार’ मेरो लागि महत्वपूर्ण अवसर थियो । नेपाली चलचित्र क्षेत्रलाई नै फरक तरिकाले व्याख्या गरिरहेका निर्देशक नवीन सुब्बासँग काम गर्ने अवसर मिलेको थियो । ‘सिंहदरबार’बाट मैले धेरै कुरा सिकेको छु ।

लेखनमा अरु चाहना ?
म सधैँ कविता लेखिरहन्छु । सानो हुँदादेखि अहिलेसम्म लेख्दै आएको छु । तर, अहिलेसम्म म आफूलाई कविको रुपमा उभ्याउन खोजेको छैन । भविष्यमा एउटा नोबेल लेख्ने सोच छ ।

प्रतिक्रिया दिनुहोस्