Logo
Logo
सुदूरपश्चिम

अस्थायी कोभिड अस्पतालहरु चिकित्सकविहीन

चिकित्सक भएका अस्पतालमा छैन उपकरण


हिक्मत बम


बैतडी । कोरोना संक्रमण दिनप्रति दिन बढ्दै गएपछि सुदूरका स्थानीय तहले अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएपनि चिकित्सक छैनन् । चिकित्सक नहुँदा संक्रमितको उपचारमा समस्या भएको स्थानीयले बताए ।

सुदूरपश्चिमका कतिपय अस्पतालहरुमा चिकित्सक छन् । तर, उपकरण छैन भने केही अस्पतालहरुका उपकरण भएपनि चिकित्सक छैनन् । कतिपय अस्पतालहरु भने चिकितसक र उपकरणविहीन रहेका छन् । यसरी सञ्चालनमा रहेका सुदूरका अस्थायी कोरोना अस्पतालहरु देखावटी मात्र भएका छन् ।

त्यस्तै, सुदूरको पहाडी जिल्ला बैतडीका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पताल चिकित्सकविहीन छन् । भारतसँग खुल्ला सीमा नाका भएको बैतडी जिल्लामा पछिल्लो समय संक्रमण दर तिब्र बन्दै गएको छ । तर, जिल्लाका स्थानीय तहहरुमा सञ्चालनमा ल्याइएका कोभिड अस्पतालहरु चिकित्सकविहीन हुँदा संक्रमित बिरामीले उपचार नपाएर मृत्युवरण गर्नुपर्ने बाध्यता छ ।

संघीय सरकारले गत वर्ष नै बजेट बिनियोजन गरेर स्थापना गर्न लगाएका ती कोभिड अस्थायी अस्पताल चिकित्सकबिना सञ्चालनमा हुँदा संक्रमित बिरामीले भरपर्दो उपचार पाउन नसकेको स्थानीयले बताएका छन् ।

भारतसँगको खुल्ला सीमानाका भएको बैतडी जिल्लामा कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि संघीय सरकारले गत वर्ष माघमै स्थानीय तहहरुमा पाँच बेडको अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि बजेट पठाएपनि पुर्चौंडी नगरपालिका, पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाहेक स्थानीय तहहरुले मेडिकल अधिकृत पाउन सकेका छैन । जसले गर्दा बिरामीहरुले भरपर्दो उपचार पाउन नसकेका गुनासाहरु बढ्दै गएका छन् ।

अस्थायी कोरोना अस्पतालमा आवश्यक जनशक्ति नहुँदा समस्या भइरहेको स्थानीय तहहरुले जनाएका छन् । जिल्लाको सिगास गाउँपालिकाले अस्थायी कोरोना अस्पताल सञ्चालन गर्न डाक्टरका लागि तीन पटक आवेदन आह्वान गरिसकेपनि हालसम्म चिकित्सक पाउन नसकेको जनाएको छ ।

चिकित्सकको लागि तीन पटकसम्म आवेदन आह्वान गरियो तर कसैको दरखास्त नपरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए । अस्थायी अस्पतालमा एक जना डाक्टर, दुई जना स्टाफ नर्स, एक जना सहयोगीको दरबन्दी हुन्छ । तर सिगासमा अहिले एकजना स्टाफ नर्स मात्र कार्यरत छन् । जिल्लाको मेलौली नगरपालिकाले पनि अस्थायी कोरोना अस्पतालका लागि तीन पटक जनशक्ति माग गरिएपनि नपाएको जनाइएको छ ।

त्यस्तै, सुर्नया गाउँपालिकाले बासुलिंग स्वास्थ्य चौकीमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको भएपनि चिकित्सक नपाउँदा एक जना नर्सले मात्रै सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।

जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाले पनि अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याइएका छन् । तर, जनशक्ति नहुँदा संक्रमित बिरामीहले प्रभावकारी सेवा पाउन सकेका छैनन् । जिल्लामा कोभिडका बिरामीहरु बढ्दै गएपनि स्थानीय तहमा सञ्चालनमा ल्याइएका अस्थायी कोरोना अस्पतालहरु चिकित्सकविहीन छन् । जसका कारण बिरामीको उपचारमा समस्या भएको छ ।

स्थानीय तहहरुमा चिकित्सकसहित कोभिड अस्पताल सञ्चालनमा आएको भए जटिल खालका संक्रमितको पनि स्थानीयस्तरमै उपचार गर्न सकिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

जिल्लाका ४६ स्वास्थ्यकर्मीलाई कोरोना
यस्तै, कोरोनाभाइरस संक्रमण फैलिएसँगै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत संक्रमणको चपेटामा परेका छन् । बैतडीमा हालसम्म ४६ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जसमा सबैभन्दा बढी सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १६ र पुर्चौडी नगरपालिकाका १५ जनामा संक्रमण पुष्टि भएको छ । यसका साथै पाटन नगरपालिकाका ११, सिगास गाउँपालिकाका दुई, मेलौली नगरपालिका र डिलाशैनी गाउँपालिकाका एक÷एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणको रोकथाम र उपचारका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि अन्य संक्रमित बिरामीहरुको उपचारमा समस्या भएको बताइएको छ । कोभिडको क्षेत्रमा प्रत्यक्षरुपमा काम गरिरहेका स्वास्थ्यकर्मी नै संक्रमित भएपछि स्वास्थ्य सेवा नै प्रभावित भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्