Logo
Logo

थाइल्याण्डमा नमुना मतदान : २३ लाखले सहभागी जनाउने अनुमान


- दृष्टि न्युज/संवाददाता

0
Shares

(AFP Photo)

बैंकक, ३ चैत (एएफपी) । थाइल्याण्डमा आज आइतबार बिहानैदेखि ठूलो भिडभाडका साथ देशभरी नमुना मतदान भइरहेको छ । मतदान केन्द्र तोकिएका विद्यालय, पार्किङ स्थल, मन्दिरलगायतका ठाउँमा हजारौँको संख्यामा मतदाताहरुको लाईन लागेका छन् ।
विगत आठ बर्षपछि थाईल्याण्डमा अहिले निर्वाचन हुन लागेको हो । एक हप्तापछि यही २४ मार्चमा हुने निर्वाचनका लागि अहिले गरिएको नमुना मतदानमा झण्डै २३ लाख जनाले मतदान गर्ने अपेक्षा गरिएको छ ।
सन् २०१४ मा तत्कालिन प्रधानमन्त्री यिङ्लक सिनावात्रादेखि अहिलेसम्म पटक पटक निर्वाचन सर्दै आएकोमा आइतबार मात्रै नमुना मतदान भएको हो । मतदाताहरुलाई सरकारी कर्मचारी, सैनिकसहितका सुरक्षाकर्मीहरु, स्वास्थ्यकर्मीहरु, विद्यार्थी र स्वयमसेवकहरुले सघाइरहेका थिए ।
मतदान भइरहेको एउटा विद्यालयमा थाई राजा माहावाजिरालोङकोर्न पनि पुगेर अवलोकन गर्नु भएको बताइएको छ । अत्यधिक बृद्ध हुनुभएका ९८ बर्षीय राजा महााभाजिलोङ्कनलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले पनि उच्च प्राथमिकता दिएका छन् ।
मार्च २४ तारिखका दिन हुने वास्तविक निर्वाचनका लागि देशभरी पाँच करोड दश लाख भन्दा बढी मतदाता रहेका छन् । ती मध्ये झण्डै एक लाख २० हजार मतदाताले देश बाहिरबाट मतदान गर्न पाउने भएका छन् । आयोगका अधिकारीहरूले दिएको जानकारी अनुसार देश बाहिरबाट मतदान गर्नेहरू ६७ देशमा रहेका छन् । मतदान गर्ने आप्रवासीमध्ये सबैभन्दा धेरै अष्ट्रेलियामा रहेका छन् भने दोस्रो धेरै अमेरिकामा रहेका छन् ।
निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका निर्वाचन आयोगले जनाएको छ । थाइल्याण्डमा देशभरी गरेर कुल ३५० निर्वाचन क्षेत्र रहेका छन् । हरेक निर्वाचन क्षेत्र र पार्टीको सूचीबाट गरी निर्वाचन हुने कूल सांसदको संख्या भने पाँच सय रहेको छ ।
थाइल्याण्डको राजनीतिमा ठूलो प्रभाव रहेको सिनावात्रा परिवारको पार्टी भने यो निर्वाचनमा सहभागी हुनबाट बञ्चित भएको छ । पूर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यीङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई अदालतले विघटन गरिदिएपछि निर्वाचनमा भाग लिनबाट बञ्चित भएको हो ।
पूर्वनिर्धाति कार्यतालिका अनुसार आम निर्वाचनका लागि मतदान गर्ने दिन आउन दुई हप्ता बाँकी रहँदा अदालतले सो पार्टी विघटनको फैसला गरेको थियोे । थाई राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेर पार्टीले अवैध र गलत काम गरेको भन्दै अदालतले विघटन गरिदिएको बताइएको छ ।
संवैधानिक अदालतका नौ सदस्यले सर्वसम्मत सो पार्टी विघटन गर्ने निर्णय गरेको थियो । थाइल्याण्डकी राजकुमारी उबोलरत्ना महिडोलले केही हप्ता अगाडि रक्षा चार्टबाट उम्मेदवार बन्ने घोषणा गरेका थिइन् । तर, निर्वाचन आयोगले भने उहाँलाई उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेपछि उनी आफ्नो निर्णयबाट पछाडी हटेकी थिइन् । उनले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उनका भाइ तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाएपछि आयोगले उनलाई अयोग्य घोषणा गरेको हो ।
राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाइअनुसार ६७ वर्षीया राजकुमारी महिडोललाई आयोगले अयोग्य घोषणा गरिदिएको थियो । थाइल्याण्डमा राजसंस्थालाई उच्च सम्मानका साथ पवित्र संस्थाका रुपमा हेरिने भएकाले राजसंस्थाको आशयलाई पालना गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्