Logo
Logo

सिरमले भन्यो, ‘तत्काल खोप आपूर्ति गर्न सकिन्न’


दृष्टि संवाददाता


काठमाडौं । भारतको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले तत्काल खोप आपूर्ति गर्न नसक्ने जनाएको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै सन् २०२१ को अन्त्यदेखि मात्र खोपको आपूर्ति गर्न सक्ने बताएको हो । यससँगै नेपालले तत्काल ‘कोभिसिल्ड’ खोप पाउने सम्भावना टुटेको छ ।

कोभिसिल्ड खोप उत्पादन गर्दै आएको कम्पनीले भारतीय सरकारसँगको छलफलपछि तत्काललाई विदेशमा खोप आपूर्ति हुन नसकेको जनाएको छ । सिरमका प्रमुख कार्यकारी अधिकृत अदार पुनेवालाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यसवर्षको अन्त्यदेखि खोप आपूर्ति सुरु हुनसक्ने हाम्रो विश्वास छ ।’ साथै, सिरमले सिंगो विश्वलाई खोप लगाउनको लागि अझै २ देखि ३ वर्ष लाग्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

सिरम इन्स्टिच्युटले अस्ट्राजेनेका र अक्सफोर्डले विकास गरेको खोपलाई भारतीय नाम ‘कोभिसिल्ड’मा उत्पादन गर्दै आएको छ । नेपालले समेत सिरमले उत्पादन गरेको उक्त खोपको २० लाख डोज नेपाल ल्याइसकेको छ ।

नेपालको खोप अभियान मूलतः भारतीय खोपमा निर्भर रहेको छ । नेपाल सरकारले सिरमले उत्पादन गरेको अष्ट्राजेनेका कोभिसिल्ड भ्याक्सिन खरिदका लागि अग्रिम भुक्तानी समेत गरिसकेको छ । तर, भारतमा दोस्रो लहर सुरु भएपछि तालिकाअनुसार खोप पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्