Logo
Logo
राष्ट्रियसभा उपनिर्वाचन

प्रधानमन्त्रीले बादललाई भोट मागेपछि आयोगले भन्यो- ‘आचारसंहिता पालना नगरे कारवाही’


दृष्टि संवाददाता


काठमाडौं । निर्वाचन आचारसंहिता उलंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्य उम्मेदवार रामबहादुर थापा बादललाई भोट मागे पछि निर्वाचन आयोगले आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै आयोगले जेठ ६ गते बिहीबार हुने बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मौन अवधि सुरु भइसकेकाले प्रचारजन्य गतिविधि नगर्न अनुरोध गरेको हो । निर्वाचन आचार संहिता विपरितका कार्य गर्ने व्यक्ति वा संस्थालाई कानून बमोजिम कारवाही गर्ने आयोगले चेतावनी दिएकाे छ ।

यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, एस.एम.एस. फेसवुक, भाईवरजस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण नहुने भन्दै आयोगले यस्ता कार्य नगर्न आग्रह गरेको हो ।

उपनिर्वाचनको मौन अवधि सुरु भइसकेको अवस्थामा आज प्रधानमन्त्री ओलीले विज्ञप्ति जारी गर्दै नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई मत दिन अनुरोध गरेका थिए ।

यस उपनिर्वाचनमा बागमती प्रदेशसभा सदस्य ११० जना र बागमती प्रदेश अन्तर्गतका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना मतदाता रहेको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुनेछ । निर्वाचक मण्डलका सबै मतदाताहरुलाई २०७८ जेठ ६ गते ९ बजेदेखि ३ बजेसम्म हुने मतदानमा सहभागी हुन समेत आयोगले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्