Logo
Logo

क्रिमिया विवादका पाँच वर्ष, पुटिन क्रिमियाको भ्रमणमा


- दृष्टि न्युज/संवाददाता


सिमफरोपोल, क्रिमिया, ४ चैत – युक्रेनबाट क्रिमियालाई रुसमा गाभेको पाँचौं वर्षगाँठका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्रिमिया पुग्नुभएको छ ।



क्रिमियालाई रुसमा गाभेको विरोधमा युक्रेन र पश्चिमा राष्ट्रले निन्दा गरेपनि अधिकांश रुसीले उक्त कदमको स्वागत गरेका छन् । रुसले क्रिमियालाई मार्च २०१४ मा आफ्नो मुलुकमा विलय गराएको थियो । 

क्रिमियामा रहँदा राष्ट्रपति पुटिनले एउटा विद्युत गृहको शुभारम्भ गर्ने कार्यक्रम रहेको क्रेमलिनले जनाएको छ । 

रुसले इतिहासमा भएको एक गम्भीर भुल सच्याएको जनाउँदै क्रिमियालाई रुसमा गाभेको थियो । सोभियत नेता निकिता ख्रुस्चेभले सन् १९५४ मा क्रिमियालाई युक्रेन मातहत राख्नुभएको थियो । रुसले क्रिमियालाई पुनः फिर्ता लिएको भन्दै राष्ट्रपति पुटिनको लोकप्रियता बढेको थियो । 

तर युक्रेन र पश्चिमा मुलुकले रुसको उक्त कदमको आलोचना गरेका छन् । रुसले पछिल्लो समय युक्रेनको पूर्वी क्षेत्रमा अघोषित रुपमा त्यहाँका विद्रोहीलाई आर्थिक, नैतिक, राजनीतिक र अरु सम्पूर्ण सहयोग गरिरहेको छ । रुसका पछिल्ला कदमका बिरुद्धमा धेरैवटा आर्थिक प्रतिबन्ध लागेका छन् । 

रुसमा मार्च १८ लाई क्रिमियाको पुनः एकीकरण दिवस भन्दै भव्य कार्यक्रम आयोजना गरिँदैछ । मस्कोमा करिब १० हजारको जुलुस निकाल्ने तयारी हुँदैछ । 

(रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्