Logo
Logo

प्रदेशका कर्मचारी सरुवामा शुभलाभ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन गरी प्रदेशमा पठाएका कर्मचारीहरुको पदस्थापन भइरहेको छ । ५ नम्बर प्रदेशले शाखा अधिकृतको पदस्थापन गर्दा मापदण्ड अनुसार गरेकाले विवाद भएन । तर ३ नम्बर प्रदेशले २०७५ चैत ३ मा शाखा अधिकृत र कम्प्युटर अधिकृत गरी ४० जनाको पदस्थापन गर्दा मापदण्ड र बिधि पूरै लत्याएर शुभलाभका आधारमा गरेको गुनासो छ ।

३ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशलकिशोर झा र मुख्यमन्त्री कार्यालयका सचिव रमेश शिवाकोटीले दररेट अनुसार शुभलाभ लिएर भ्रष्ट र बदनाम कर्मचारीहरुलाई यातायात कार्यालयमा पदस्थापन गरेका छन् । यसअघि यातायात कार्यालयमा बसेर अकूत सम्पत्ति आर्जन गर्ने करोडौंपति अधिकृतहरुलाई पुनः तिनै कार्यालयमा पदस्थापन गरिएको छ । ३ नम्बर प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव लक्ष्मण थापाले अधिकृतहरुसँग यातायात कार्यालयमा टेण्डर गरी उठाउने काम गरेका थिए । उपसचिव थापाले शुभलाभ उठाएको सूची अनुसार नै सचिव झा र शिवाकोटीले सरुवा गरेको आरोप छ । नेकपाको दुईतिहाई सरकार भएको बेलामा निजामती कर्मचारी संगठन समर्थक शाखा अधिकृतलाई यातायात कार्यालयमा नपठाई छानीछानी कांग्रेस समर्थकहरुलाई पठाइएको छ । कतिपय दोस्रो र केही तेस्रो पटक पनि यातायातमै सरुवा हुन सफल भएका छन् । ३ नम्बर प्रदेशमा शाखा अधिकृतको सरुवापछि नायबसुब्बा सरुवा पनि आर्थिक चलखेलमै हुन लागेको स्रोतले बताएको छ । उपसचिव थापासहित सचिवद्वय झा र शिवाकोटीले नासु सरुवामा पनि चलखेल गरी त्यही जसले बढी कबोल गर्छ उसैलाई आकर्षक यातायात कार्यालयमा सरुवा गर्ने तयारी गरेका छन् ।
३ नम्बर प्रदेशले सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुना ललितपुर, जगाती र सुकेधारामा २६ शाखा अधिकृतको पदस्थापन गरेको छ । ८ शाखा अधिकृतलाई यातायात कार्यालय मोटरसाइकल थानकोटमा पदस्थापन गरेको छ । नगद बुझाएर यातायात कार्यालयमा पदस्थापन हुने शाखा अधिकृतहरुमा भक्तबहादुर भण्डारी, गणेशलाल महर्जन, डम्बरबहादुर चन्द, विनिता भण्डारी, संजय थापा, लेखनाथ पोखरेल, कपिल सिलवाल, रोहित पोखरेल, पवनकुमार पोखरेल, करुणा पराजुली, डण्डबहादुर बस्नेत, दीपककुमार पोखरेल, गोविन्द पुरी, कृष्ण श्रेष्ठ, धु्रवप्रसाद फुयाल, एकराज पोखरेल, अमुल पराजुली, उमेशकुमार दाहाल, यादवनाथ आचार्य लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्