Logo
Logo

गृहमन्त्रीको पद ढुक्क


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड अमेरिका भ्रमणमा निस्किएपछि मन्त्रीमण्डल पुनर्गठन तत्कालका लागि टरेको छ । अब प्रचण्ड अमेरिकाबाट फर्किएपछि मात्र मन्त्रीहरुको हेरफेर हुने स्रोतले दृष्टिलाई बताएको छ ।

मन्त्रिमण्डल पुनर्गठनको तयारी सुरु भएलगत्तै नेताहरुको दौडधुप बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विराटनगरमा तत्काल मन्त्रीहरु हेरफेर नहुने बताएका थिए । हेरफेरबारे पटक–पटक कुराकानी भइसकेको स्रोत बताउँछ ।
मन्त्रीमण्डल हेरफेरको तयारी भएपछि केही मन्त्रीहरु कुर्सी गुम्ने डरमा छन् । केही भने ढुक्क छन् । तत्कालीन एमालेबाट मन्त्री भएकाहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, गोकुल बाँस्कोटालगायतलाई कुनै चिन्ता छैन । लालबाबु पण्डित, डा युवराज खतिवडा, थममाया थापा, रघुवीर महासेठलगायत पद जोगाउन लागेका छन् । बजेटको तयारी सुरु भइसकेकाले अर्थमन्त्री फेर्न भने समस्या हुने देखिन्छ ।
तत्कालीन माओवादीका तर्फबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुनलगायत ढुक्क छन् । त्यसो त सुरुमा प्रधानमन्त्री ओली र गृहमन्त्री बादलबीच सम्बन्ध राम्रो थिएन । तर, बादल अहिले ओली र प्रचण्ड दुवैको आज्ञाकारी बनिसकेका छन् । प्रधानन्त्रीबाट आउने सबै सिफारिस उनले कार्यान्वायन गर्दै आएको स्रोत बताउँछ । जसकारण पार्टीमा पनि उनले जिम्मेवारी पाएका छन् भने मन्त्रीको पद पनि ढुक्क भएको छ । तत्कालीन माओवादीबाट कृषिमन्त्री चक्रपाणि खनाल बलदेव, उद्योगमन्त्री मात्रिका यादवलगायत पद धरापमा छ ।
मन्त्री बन्ने नयाँ नाममा योगेश भट्टराई, महेश बस्नेत, जनार्दन शर्मा, रेखा शर्मालगायत छन् । योगेशको नाममा सहमति भइनसकेको स्रोत बताउँछ । महेश बस्नेतलाई मन्त्रिमण्डलमा ल्याउने मुडमा ओली छन् । तत्कालीन माओवादीको तर्फबाट पनि केही नामहरु तय भइसकेको स्रोत बताउँछ । लगानी सम्मेलनलगत्तै मन्त्रीहरु हेरफेर हुने सम्भवना छ ।

प्रतिक्रिया दिनुहोस्