Logo
Logo

‘समाजवाद या दलाल पूँजीवाद रोज्ने अधिकार जनतालाई दिनुपर्छ’


दृष्टि संवाददाता


काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गर्नु समस्या समाधानभन्दा पनि देशलाई अन्तर्विरोध र संकटमा धकेल्ने चाल भएको बताएका छन् ।

शनिबार महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै विषयमा पार्टीको धारणा सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा २०७३ सालदेखि पार्टीले अहिलेको संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने बताउँदै आएकामा अहिले सही सावित भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘२०७३ साल देखि दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खादैन, यो सफल हुँदैन भन्ने हाम्रो पार्टीको निष्कर्ष सही सावित भएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘शान्ति, स्थिरता एवं समृद्धिको नारामा जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको नेकपा र केपी ओली शर्माको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता आएको छ । यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या हो ।’

विप्लवले संसदीय व्यवस्थाको संकटको निकास निर्विकल्प रुपले वैज्ञानिक समाजवाद मात्र हुने भन्दै आज पार्टीको मत जनताको माग र चाहनासँग जोडिएको उल्लेख गरेका छन् । विप्लवले अहिलेको संकटलाई उचित निकास दिन जनमत संग्रहमा जानुपर्नेमा समेत जोड दिएका छन् ।

संसदवादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नु पर्ने बताउँदै आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद या दलाल पूँजीवाद रोज्ने अधिकार जनमत संग्रहद्धारा जनतालाई प्रदान गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्