Logo
Logo

मुर्दाहरुले भोट हाल्छन् महाराज ?


मिलन लिम्बू


अहिले एक बुँद अक्सिजन नयाँ जीवन हो । तर, अक्सिजन नपाएर जनता प्राण त्यागिरहेका छन् । शासक भेषमा ‘जागित्र’हरु जनताको प्राण हर्दैछन् । र, जनताका चिहानमाथि प्रतिगमन मञ्चन गर्दैछन् ।

लौकिक विश्वासअनुसार वायुका रुपमा अदृश्य अवस्थामा हिँड्ने मृतात्मा, प्रेत र पिशाजहरु नै जागित्र हुन् । जागित्रहरुले अदृश्य रुपमा मानिसलाई दुःख दिन्छन् । यहाँ शासक मरेर ‘मुर्दा’ बनिसकेका छन् । त्यसैले त ‘जागित्र’ भएर जनतालाई दुःख दिँदैछन् ।

जागित्रहरु मध्यरातमा जाग्छन् । मुर्दाहरु मध्यरातमा सलबलाउँछन् । जो आज शासकको भेषमा देखिएका छन् । बालुवाटार र शीतल निवास ओहोरदोहोर गरिरहेछन् । त्यहीँबाट प्रतिगमन रचिरहेका हुन्छन् ।

‘शासक मुर्दा’ नभएको भए आज ‘एक बुँद अक्सिजन’ नपाएर जनताले अकालमा प्राण त्याग्नुपर्ने थिएन । मुर्दा शासक हुँदा जनता अभिभावक विहिन भए । त्यसैले त आज जनताले चिहानसम्म नपाउने अवस्थामा शीतल निवास र बालुवाटार ‘झेल’मा मस्त छ ।

कोरोना महामारीको सुरुवाती समयदेखि नै बालुवाटार अर्थात ‘झेली अड्डा’बाट कर्कस ध्वनी गुञ्जिएको हो । बेमौसमी बाजा बजेकै थियो । सकुनीका पासाहरु चालिएकै थिए । बेसारे गफ चलेकै थियो । कविताहरु फुरेकै थिए । मुर्दाहरु मध्यरातमा सलबलाएकै थिए । हो, त्यति नै बेला कोरोनाले मात्र होइन, भोकले मर्नेको संख्या पनि बढ्दै थियो, देशमा ।

लकडाउन गरेर शासक बालुवाटारमा मस्तले निदाए । निद्राबाट ब्यूँझदा जनता अन्तिम श्वास फेर्दै थिए । सोही मौका छोपेर शासकले प्रतिगमन खेले । पुस ५ मा सुरु भएको प्रतिगमन जेठ ७ गते ‘क्लाइमेक्स’ पुग्यो । जुन दिन मात्र १७७ जनाले कोरोनाको नाममा प्राण त्याग्दै थिए ।

बालुवाटारबाट खुल्लामञ्चको दूरी लामो छैन । जहाँ, भोका पेटहरु जीवन खोज्दैछन् । बालुवाटार र आर्यघाट टाढा छैन । त्यहाँबाट मुर्दाहरु अन्तिम पटक शासकलाई सराप्दैछन् । यदि जनता पनि शासक जस्तै मुर्दा भएर पनि उठ्न सक्ने भए आर्यघाटबाट भन्ने थिए– ‘मेरो हत्यारा तिमी शासकहरु हौ !’

कोरोना महामारीबाट आफ्ना नागरिक बचाउन विश्वाका शासकले केही बाँकी राखेनन् । यहाँका मुर्दा शासकले जनता बचाउँन किनेको औषधिमा पनि कमिसन खाए । विश्वका शासकले जनता बचाउन अनेक योजना बनाए । तर, यहाँका मुर्दा शासकले जनता बचाउन होइन व्यवस्था मास्न अनेक प्रपञ्च रचे । त्यो क्रम अहिले छ, भोली पनि हुन्छ ।

बालुवाटारमा स्वीच दबाएर दूरदराजका सडक शिलान्यासको ढोँङ गर्ने मुर्दा शासकलाई ‘रेम्डेसिभिर’ अभावमा जनता छटपटाइरहेका छन् भन्ने हेक्का हुने कुरै भएन । महामारीले सर्वस्वहरण गरेकाहरुको चित्कारले बालुवाटारको मुटुमा शीतलता प्रदान गर्यो सायद ! त्यसैले त खोप खरिदमा पनि बालुवाटारे छौडाहरुले कमिशन मागे ।

मुर्दा शासकलाई श्वास होइन, लासको माया लाग्छ । आदेश सुनेको थिए– ‘पशुपतिमा मान्छे जलाउने दाउराको कमि हुन नदिनु !’ तर, आजसम्म ‘अक्सिजन नपाएर कोही नमरुन्’ भनेको त सुनेकै छैन । यदि, शासक मुर्दा नभएको भए– ‘मेरा जनता सामान्य औषधि नपाएर मर्नुपर्ने छैन । सबै व्यवस्था गरिएको छ’, भन्थे । लास जलाउनका लागि दाउराको चिन्ता गर्नुपर्ने थिएन ।

शासक मुर्दा नहुँदो हो त दैनिक दुई सयको हारहारीमा जनता मर्दै गर्दा ‘सिचुएसन अन्डर कन्ट्रोल’ भन्दै गफ छाट्ने थिएनन् । मेरा जनता समस्यामा छन् । मैले मात्र सकिन । अवस्था असामान्य भइसक्यो सहयोग गर, भन्ने थिए । तर, हत्केलाले सूर्य छेक्ने दुष्प्रयास भयो, आफ्ना जनता मार्न दुनियाँलाई पंगु बनाउने काम भयो ।

मुर्दा शासकहरु मध्यरातमा सलबलाए । तर, ‘जनता मर्न लागे बचाउनुपर्छ’ भनेर होइन । उनीहरु त ‘अनैतिक रजगज’ निरन्तरताका लागि सलबलाएका हुन् । जेठ ७ गतेको मध्यरात त्यसैको साक्षी हो । बालुवाटार र शीतल निवासको अनैतिक सम्बन्धले अर्को प्रतिगमन जन्मायो ! जनता कोरोनाले मर्दै गर्दा मुर्दा शासक सार्वभौम संसद हत्या गर्दै थिए । जनताको त्याग र बलिदानको प्रतिफल संविधान च्यातिरहेका थिए ।

झेली अड्डा बालुवाटारले मध्यवधि तोक्यो, शीतल निवासले लाहाछाप लगायो– अब निर्वाचन हुन्छ रे ! बालुवाटारले तोकेको निर्वाचन मितिसम्म पुग्दा जनता कति बाँकी रहलान् ? मुर्दा शासकलाई हेक्का छ ? हेक्का हुनुपर्छ । अहिलेकै अनुपातमा मृतकको संख्या बढ्दै जाने हो भने त्यो निर्वाचनसम्म पुग्दा मतदाता सबै मुर्दा भइसकेका हुनेछन् । मुर्दाहरुले भोट हाल्छन् महाराज ?

खोप दिने बेलामा निर्वाचन घोषणा गरेका मुर्दा शासकहरु अब केही थान खोप भीख मागेर जनतालई भन्नेछन्– ‘भोट दिने भए खोप दिन्छु !’ यो महाअपराध हुनेछ ।

महामारीमा शासकले महाअपराध गरेका छन् । अक्षम्य अपराध गरेका छन् । त्यो अपराधको क्रम जेठ ७ को लसपसपछि झनै बढ्नेछ । के हामी नागरिक पनि ‘मुर्दा जनता’ हौ ? यदि, होइन भने शासकबाट हुँदै आएको अक्षम्य अपराधविरुद्ध संघर्षमा जुट्नुपर्छ । महामारीको नाममा शासकबाट भइरहेको नरसंहार रोक्नुपर्छ ।

Twitter @milanlimboo

प्रतिक्रिया दिनुहोस्